प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नु भएको छैन : माओवादी सांसद दाहाल


२० असार २०८०, बुधबार
lekhnath dahal

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात नगरेको बताएका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरी संसद् अवरोध गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले एमालेले सरकारबाहिर बसेको पीडा अभिव्यक्त गरेको टिप्पणी गरे । उनले सरकार अङ्कगणितले बन्ने र बहुमत गुमाएको दिन स्वतः राजीनामा हुने भन्दै अहिले नै राजीनामा दिनलाई कुनै राष्ट्रघाती सन्धि नगरिएको बताए ।

सांसद दाहालले भारतीय व्यापारी प्रीतम सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदीक्षा राखेको कुरा अभिव्यक्त गरेका र त्यही कुरा प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रमका बीचमा राखेको भन्दै त्यो विषय राजनीतिक नभएको बताए ।

उनले भने, ‘एमाले सरकारबाहिर बसेका कारण उसलाई ठूलो पीडा छ । आवेग छ । त्यो आवेग अभिव्यक्त हुन्छ । सरकार कसरी बन्छ भनेर एमालेलाई थाहा रहेनछ । सरकार अङ्कगणित हिसाबले बन्छ । जुनदिन यो सरकारले बहुमत गुमाउँछ, त्यो दिन स्वतः राजीनामा हुन्छ । के को राजीनामा ? उहाँहरूले जस्तो देश बेचेको छ ? राष्ट्रघाती सन्धि गरेको छ ? कुनै अपमानित काम गरेको छ नीतिगत हिसाबले, राजनीतिक हिसाबले ? कुनै एउटा पात्रले आफूमाथि राखेको सदीक्षा सम्झिएको हो । सरदार प्रितम सिंहले कमसेकम प्रचण्ड प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने सदीक्षा राख्नुभयो । न उहाँको राजनीतिक भूमिका छ, न घरानीया व्यवसायी हो । सामान्य श्रमिक, मजदुरको सदीक्षा राजनीतिक विषय बनाउन मिल्छ र ?’

सांसद दाहालले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सदीक्षासहित सिंहले नेपाल र भारतका व्यक्तिहरूलाई भेटेको बताए पनि त्यसो गर्न प्रचण्डले नअह्राएको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७