कर्मचारीका छोराछोरीले पाउँदै आएको छात्रवृत्ति रोकियो


२७ बैशाख २०७५, बिहीबार
SCHOLARSHIP Kgcm9rdoFI

काठमाडौं, २७ बैसाख । निजामती कर्मचारीका छोराछोरीलाई उपलब्ध गराउँदै आएको ‘सन्तति छात्रवृत्ति’ कार्यक्रम रोकिएको छ । सरकारले छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुन नसकेको र छात्रवृत्ति पाएकालाई कार्यविधिअनुसार सरकारी काममा लगाउन नसकिएको निष्कर्ष निकाल्दै उक्त कार्यक्रम रोकेको हो ।

SCHOLARSHIP Kgcm9rdoFI
तस्विर : गुगल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई छात्रवृत्तिका लागि आवश्यक थप ९ करोड रुपैयाँको बजेट निकासा गर्न अर्थ मन्त्रालय अनिच्छुक भएपछि यस पटकको कार्यक्रम रोकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अर्थले रकम नदिएपछि चालु आर्थिक वर्ष २०७४–७५ मा निजामती कर्मचारीका झण्डै एक हजार सन्ततिका लागि वितरण गर्ने तयारी गरिएको छात्रवृत्ति कार्यक्रम रोकिएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । छात्रवृत्तिका लागि आवश्यक थप ९ करोड रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालय अनिच्छुक भएपछि कार्यक्रम रोकिएको हो । चालु आर्थिक वर्षका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न आवश्यक १३ करोडमध्ये ९ करोड रुपैयाँ अपुग थियो । चार करोड रुपैयाँ भने सामान्य प्रशासन मन्त्रालयसँग मौज्दात रहेको जनाइएको छ ।

सरकारले आर्थिक वर्ष २०६६–६७ देखि निजामती कर्मचारीका सन्ततिलाई डाक्टर, इन्जिनियर, नर्स, कृषि, तथा वन प्राविधिक, डेन्टिस्टलगायत १० विषयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । आव २०६६–६७ देखि २०७३–७४ सम्म मात्रै कर्मचारीका २ हजार ८ सय ७७ सन्ततिले विभिन्न विषयमा छात्रवृत्ति पाएका छन् । छात्रवृत्तिको रकम दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७