रोहिङ्ग्या शिविरमा भएको झडपमा ६ जनाको मृत्यु


२२ असार २०८०, शुक्रबार
rohingya
फाइल फोटो

काठमाडौं । बङ्गलादेशको राहत शिविरमा भएको झडपमा छ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक बयान लिन उक्त बस्तीमा पुगेको केही घण्टापछि भएको झडपमा परी मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बङ्गलादेशमा रोहिङ्ग्या अल्पसख्यक समुदायका करिब १० लाख सदस्य छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका हुन् । ‘अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए)’ र ‘रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन (आरएसओ)’ बीच शिविरमा सञ्चालित दुई प्रतिद्वन्द्वी विद्रोही समूहबीच भएको घातक भिडन्तको शृङ्खलामा यो साताको हिंसा पछिल्लो घटना हो ।

शरणार्थी शिविरको सुरक्षा हेर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान सबेरै भएको सशस्त्र झडप (गोली हानाहान)मा पाँच जनाको मृत्यु भएको छ । ‘गोली हानाहानमा मारिएका पाँचै जना कमाण्डरसहित एआरएसएका सदस्य हुन्’, उनले भने ।

झडपपछि शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहमदका अनुसार शरणार्थी समुदायका नेता इबादुल्लाहको एआरएसए सदस्यहरूको हातबाट हत्या भएको केही घण्टापछि हिंसा भएको हो । स्थानीय दैनिक प्रोथोम आलोका अनुसार २७ वर्षीय इबादुल्लाहले सन् २०१७ मा म्यान्मारमा भएको दमनका प्रत्यक्षदर्शीको बयान लिन बिहीबार शिविर पुगेका आइसिसीका अभियोजक करिम एए खानलाई भेट्न शरणार्थीलाई भेला गरिरहेका थिए । एआरएसएले हत्याको बारेमा तत्काल कुनै टिप्पणी गरेको छैन, तर यसका सदस्यहरूले आफ्नो अधिकारलाई चुनौती दिने रोहिङ्ग्या नेताहरूलाई लक्षित गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७