ईन्द्रवतीको सपना सप्तरङ्गी बनाई दिए हङकङकी जुनु र लोकुले

–मगेन्द्र राई
सुनसरीकी ईन्द्रवती रामले आफ्नो भाग्य खोज्दै कुवेतको मरुभूमिमा नौ बर्ष दश नंग्र्रा खियाइन् । मरुभूमिमै भए पनि खुशीको हरियाली उमारीरहेकी ईन्द्रवतीको जोवनलाई जनकपुर निवासी एक दलित युवाले भमरा बनि लुट्नसम्म लुटे । बिवाहित उक्त ब्यक्तिले आफूलाई ठूलो जात र कुमार हुँ भनि झुक्याएर माया जालमा फसाएपछि ईन्द्रावती आफूलाई ईन्द्रकमल फूलझै फक्रिएको महसुस गरिन् ।

 नयाँ ईलेक्ट्रीक रिक्सा पाए पछि ट्रायल ड्राईभ गर्दै ईन्द्रवती ।

मह जस्तै गुलियो मोहनी वचनमा मख्ख परेपछि आफ्नो मनको राजा सम्झी तिनले कुवेतमै ती ब्यक्तिसँग गन्धर्व बिवाह गरिन् । मनले खाएर मनैले रोजेपछि तिनै ब्यक्तिलाई ईन्द्रवतीले सर्बप्रिय र सबथोक ठानिन् । अनि आफूले कमाएको सम्पूर्ण सम्पत्ति समेत उनै ब्यक्तिको हातमा थमाई दिइन् । तिनका सो ‘कल्ड’ पतिले सो रकमबाट जनकपुरमा जग्गा जमिन जोडे । कुवेतमै बिवाह भएपछि उनीहरुको प्रेमको निशानी स्वरुप पेटमा बच्चा हुर्कन थाल्यो । गर्भ करीब बच्चा ६ महिनाको भएपछि काम गर्न नमिल्ने भनि रोजगारदाताले तिनलाई कामबाट बर्खास्त गरी नेपाल फर्काई दियो ।

नव पति सँगै फर्कने बचन दिए पनि बचन पूरा गरेनन् । पतिको गाउ ठेगानको राम्रो जानकारी नभएपछि सानैमा आफ्ना माता–पिता समेत गुमाईसकेकी उनी सुनसरीमा रहेकी कान्छी आमासँग केही समय बिताइन् र त्यहीं बच्चा जन्माइन् । बच्चा जन्मिएको ११ दिनको हुँदा उनी जनकपुरमा बच्चाको बाबाको घरमा आफ्नो अधिकार माग्न गइन् । उनी त्यहाँ अस्वीकृत भएपछि फेरि माइती सुनसरी नै फर्किइन् ।

आवात–जावात गर्दा बच्चा बिमारी भयो । बच्चाको उपचारका लागि आफूले लगाएको भएभरको गहना धरौटी राखेर दुई महिने बच्चाको उपचार गराइन् । बच्चा केही बिसेक भएपछि आफ्नो अधिकार माग्न फेरि जनकपुर नै गइन् । त्यहाँ पुनः अस्वीकृत भइन् ।

त्यसपछि तिनको जाने ठाउँ कहि थिएन । उनी ओरेक नेपालको शरणमा पुगिन् । जहाँ तिनले अटो रिक्सा तालिम लिएर १२ सय रिक्सा चालकहरुमा उनी एक्लो महिला चालक बनिन् । अनि भाडामा रिक्सा चलाउन शुरु गरिन् । एकल महिलाको रुपमा संघर्षको नौलो अध्याय शुरु गर्दै बच्चाको लालनपालन गर्न थालिन् ।

कसरी लिलावती लाइटमा आइन् ?
पत्रकार मोनिका झाले अन्नपूर्ण पोष्टमार्फत तिनको कथा छापेपछि बीबीसी नेपाली सेवामा साझा सवाल कि सञ्चालिका बिद्या चापागाईले कार्यक्रममार्फत प्रस्तुत ईन्द्रवतीलाई प्रस्तुत गरिन् । त्यहाँ तिनले भनेकी थिइन्, ‘भविष्यमा आफ्नै स्वामित्वको एक रिक्सा किन्ने सपना छ ।’ त्यसपछि ईन्द्रवतीको कथा डढेलो जस्तै संसारभर फैलिएयो । यहि क्रममा नेपाल खबर हङ्कङ्गका प्रतिनिधि मगेन्द्र राईले आफ्नो फेसबुक स्टाटसमा फोटोसहितको बिवरण शेयर गरे । संघर्ष र पीडाको त्यो फिलुङ्गोले हङ्कङ्ग युनलोङ निवासी नेपाल खबरकी चर्चित ब्लगर जुनु राना र लोकु पुनको मनमा सहानुभूति जाग्यो । लोकु भन्छिन्, ‘त्यो कथा सुनेपछि आँखाभरी आँशु बर्षियो ।’

कसरी शुरु भयो सहयोग अभियान ?
उल्लेख्य परोपकारी कार्य गर्दै आईरहेकी हङकङ्ग बस्दै आएकी बाग्लुङ कि जुनु रानाले त्यो स्टाटस पढेपछि र भिडियो हेरेपछि यो बर्ष ईन्द्रवतीलाई सहयोग गर्ने निर्णय गरिन् । उमेर फरक परे पनि भावनाको एकै भङ्गालोमा बग्ने आफ्नी संगिनी लोकुसँग सल्लाह गरिन् । अभियन्ताहरु देब्रे जुनु राना, दाहिने लोकु पुन ।

लोकु त्यतिबेला लामो छुट्टि मनाउन आफ्नो घर चितवन पुगेकी थिइन् । मिलेर सहयोग जुटाउने निर्णय भयो । हङ्कङ्गमा जुनु कम्मर कसेर अगाडि बढ्ने भइन् । तर जात, क्षेत्र आदिले कित्ताकाट भएर चिराचिरा परेको हङकङ्गको समाजमा तराईबासी एक अपहेलित नारीका लागि सहयोग उठाउन सजिलो थिएन । जुनुले त्यतिबेला भनेकी थिइन्, ‘सहयोगका लागि अभियान शुरु भएको छ, रकम उठे उठ्छ नउठे आफ्नै गोजीबाट निकालेर भए पनि एउटा नयाँ रिक्सा दिएरै छाड्छौं ।’

बिचार र भावनाले फेसबुकमार्फत सबैको मन खिच्न सक्ने जुनुले त्यतिकै पैसा उठाउनु भन्दा बरु स्वास्थ र मनोरञ्जन समेत प्राप्त गर्ने मनसायले ‘स्वास्थसँगै सहयोग’ भन्ने सोचका साथ च्यारिटी हाइकिङ आयोजना गरिन् । हाइकिङ तथा फेसबुक अभियानमार्फत एक लाख ७० हजार संकलन गरिन् । त्यसैगरी लोकु पुनले नेपालबाटै एक लाख ४० हजार सहयोग संकलन गरिन् । यी दुबैको सहकार्यले करीब तिन लाख मूल्यको इलेक्ट्रिक रिक्सा किन्न सकिने भयो । अहिले त्यही रकमले ईन्द्रावतीलाई चाबी र रिक्सा हस्तान्तरण गरिएको छ ।

कसरी हस्तान्तरण गरियो रिक्साको चावी ?
दुबै अभियन्ताहरु हङकङमै भएको हुँदा  पत्रकार जेबि पुनमार्फत उक्त कार्य सम्पन्न गरियो । यसका लागि गत सोमबार सबै चाजोपाजो मिलाएर नयाँ रिक्सा ईन्द्रवतीलाई हस्तान्तरण गर्न जेबि काठमाडौंबाट जनकपुर हानिए । प्रदेश नम्बर–२ का महान्याधिवक्ता दिपेन्द्रकुमार झामार्फत ईन्द्रावतीलाई रिक्साको स्वामित्वपत्र र चाबी हस्तातरण गरियो । उक्त कार्यक्रममा जेबिले सुत्रधारहरु जुनु राना र लोकु पुनको सुन्दर सन्देश समेत सुनाएका थिए।

रिक्साको चाबी स्विकारे पछि २५ बर्षीय लिलावतीले आफ्ना २ बर्ष ४ महिने छोरालाई काखमै राखेर महान्याधिवक्ता झाँलाई लिफ्ट दिई नयाँ रिक्सामा परिक्रमा गराईन। उत्पिडन र सामाजिक हेयको जन्जिरलाई चुडाल्दै संघर्षको मैदानमा उत्रीएकी तिनको साहसलाई सम्मान गर्दै उपस्थित पत्रकार र जनमानसहरुले ताली बजाएर थप हौसला प्रदान गरे।
अप्रत्याशित रुपमा नया महङ्गो रिक्सा पाउने कुरा तिनले न त कल्पना गरेकी थिईन न सपनामा सिचेकी थिईन। तर एकाएक यस्तो सुखद घटनाले उनि हर्षाश्रु बनिन। तिनले आफ्नो बिषम परिस्थितिमा साथ दिने, एनजिओ ओरेक नेपाल, आफ्नो कथा लेखिदिएर

डढेलो झै फैलाईदिने संचारकर्मी र त्यो कथा सुनेर रिक्सा नै किनिदिएर दुखको सागरबाट बैतरणी गराईदिने हङकङकि जुनु राना र लोकु पुन प्रती अनुग्रीहित बनिन। त्यसो भनिरहदा तिनको आँखाबाट आँसुको भेल बगिरहेको थियो।

भाडामा रिक्सा चलाएर बच्चाको लालन पोषण र आफ्नो गुजारा गरिरहेकिकी ईन्द्रवती सोमबार सखार सम्म छोरालाई उपचार गराउन माईतीघर सुनसरी मै थिईन। नया रिक्सा पाउने खबर पाए पछि सपना वा बिपना जस्तो भैरहेकी लिलावती खुशिको भारी बोकेर बिहान जनकपुरमा आईपुगेकी थिईन।पति समेत यकिन नभएको, रिक्सा चलाउने आईमाई भनी तिनी समाज बाट निन्दित तथा अपहेलित बनेकी थिईन। तर उनी फलामले घनको चोट सहे झै त्यस बिरुद्द अनवरत हटेर हैन डटेर लडिन।यो लडाईमा ओरेक नेपाल नामक सस्थाले सहयोग गरेको थियो। तिनको कदमलाई स्थानीय संचारकर्मीहरु र चेतनशिल जमातले हौसला प्रदान गरेका थिए।

रिक्सा पाए पछिको प्रतिक्रिया
नया रिक्सा पाए पछि ईन्द्रवतीको अनुहारमा खुशी दौडिरहेको थियो। आफ्नो सपना पुरा भएकोमा मख्ख थिईन। आफ्नो भाग्यको सिला खोजिरहेकी तिनले आफ्नै आखाको अगाडी भाग्य लहलह झुलेको देखिन।जिन्दगीको बेलोमा रहर र आशाको चिचिला अंकुरण भएको महसुस गर्दै भनिन, ‘साहुलाई भाडा बुझाउन नसकेर कमाई बन्द भएको थियो, अब आफ्नै रिक्साबाट कमाई गएर छोरोलाई पढाउछु हुर्काउछु, भविष्यमा अझै थप राम्रो काम गर्नेछु।’ उनले थपिन,’मैले रिक्सा चलाउँदा हिंजो खिसी टिउरी गर्नेहरु मेरै लाइनमा उभिएका छन यतिखेर।जिवनलाई संघर्ष हो भनी आत्मासात गर्दै आत्मनिर्भर तर्फ उन्मुख हुन खोज्दा त्यसले अन्य महिलाहरु पनि उत्प्रेरित भएको देख्दा थप खुशी लागेको छ। मेरै पहलकदम देखेर बिरंगजमा ५ जना महिलाहरुले अटो रिक्सा चलाएर आत्मनिर्भर भै रहेको छ्न, यो क्रम जारी छ।’

यता अभियन्ताहरु जुनु र लोकु लाई आफ्नो योजना सफल भएकोमा बेग्लै अनुभुती भएको छ। जुनु भन्छिन,’सङ्कुचित बन्दै गैरहेको हङकङको नेपाली समाजमा हामीले जात हेरेनौ, क्षेत्र हेरनौं । एक एकल र संघर्षशिल महिलाले देखेको सपना साकार पार्नमा टेवा दिने काम गर्यौ। हामीले ईन्द्रवतीको दुख र कम्जोरीलाई सहानुभूति हैन तर तिनको साहस र बिद्रोहका लागी साथ र हौसला दिएका हौ।त्यसो त एक नारी भएर अर्कि एक नारिको भावना बुझ्दै उसको जीवन संघर्षलाई सहज पार्न साथ दिन सकेकोमा आफु धन्य भएको अनुभुती भएको छू ।’ लोकु भन्छिन ‘कसैलाई दिनु वा सहयोग गर्दाको क्षण भन्दा ठुलो आनन्द जिवनमा अरु केहि नहुदो रहेछ, आफु हिडिरहेको बाटो भन्दा केहि फरक बाटो समाती अरुको जिवनलाई सुन्दर बनाउनु भन्दा सुन्दर अरु केहि चिज नहुदो रहेछ, ईन्द्रवती आखामा रसाएको खुशिको आशु देख्दा हामीलाई यस्तै यस्तै महसुस भैरहेको छ ।’

पत्रकारिता मार्फत सामाजिक उत्तरदायित्वको बोध गर्दै समाजको दर्पण बन्न सके समाज परिबर्तनमा ठुलो भुमिका रहन्छ भन्ने ज्वलन्त उदाहरण ईन्द्रवती जस्ता अब्बल साहसी महिला पात्रलाई बाहिर ल्याउनले देखाएको छ। जसले गर्दा तिनको जिवनमा ब्यापक परिबर्तन आउन सम्भव भएको छ। सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता समयको माग हो।

 

प्रतिक्रिया दिनुहोस्