स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ : मुख्यमन्त्री शाह


२६ असार २०८०, मंगलवार
Kamal sha scaled

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँको स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थित गर्दै लैजाने कुरामा प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताएका छन् ।

महेन्द्रनगरमा आज आयोजित कञ्चनपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले नयाँ आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई क्षमताले भ्याएसम्मको समावेश गरिएको उल्लेख गरे । खोपको महत्वबारे ९० प्रतिशत नागरिकलाई कोरोना महामारीका बेला जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार खोप अभियान निरन्तर गर्ने र त्यसका लागि आवश्यक तयारीका साथ अघि बढ्ने बताए ।

‘बजेटमा समावेश गरिएको स्वास्थ्य क्षेत्रको विषय पर्याप्त भयो भन्ने होइन’, उनले भने । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिमले यर्थातपरक बजेट ल्याएको मुख्यमन्त्री शाहको भनाइ थियो । आफ्नो आयस्रोत र साधनस्रोतको अवस्था हरेर सोही अनुसार आगामी आर्थिक वर्षको बजेट ल्याइएको उनले दाबी गरे । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन जडानका लागि नयाँ बजेटमा रकम विनियोजन गरिएको उनले जानाकारी दिए । ‘महाकाली अस्पतालमा सो सेवा दिनु निकै आवश्यक छ’, मुख्यमन्त्री शाहले भने ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले यसअघि पालिकास्तरमा पूर्णखोप सुनिश्चितता गरिएको जानकारी दिए । गत वैशाखमा छुटेकालाई खोप लगाउनकै लागि खोप महिनाका रुपमा मनाएको उनले बताए । पन्तले भने, ‘कञ्चनपुरमा एक सय ३९ खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको हो ।’ उनले टोल–टोल, घर–घरमा पुगेर महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीको टोली खोप अभियानका क्रममा खटिएको बताए ।

सो अवसरमा कञ्चनपुरका नौवटै पालिकाबाट एक-एक महिला स्वास्थ्य स्वय्म सेविका तथा स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य मधु भारती, यहाँका नौवटै पालिकाका प्रमुख-तथा उपप्रमुख, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७