चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली साउन ७ गते नेपाल आउँदै


३० असार २०८०, शनिबार
Yuan Jiajun qPhcsaHojs

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को उच्चस्तरीय टोली नेपाल आउने भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रको निमन्त्रणामा सीपीसीको केन्द्रीय कमिटी बैठकले पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिव समेत रहेका युयान च्याच्युन नेतृत्वको टोलीलाई नेपाल पठाउने निर्णय गरेको हो ।

युयानको टोली जुलाई १६ देखि २५ तारिखबीच नेपालसहित अन्य दुई देशको यात्रामा निस्किने भएको छ । सो अवधिमा युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आइपुग्नेछ । सिंगापुर सरकार र पिपुल फ्रन्ट पार्टीको निमन्त्रणामा युयानको टोली सिंगापुर र श्रीलंकाको भ्रमण गर्नेछ ।

युयानको टोली साउन ७ गते नेपाल आइपुग्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । नेपालमा रहँदा युयानको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिकस्थलहरूको भ्रमण गर्ने जनाइएको छ ।

केही समयअघि सीपीसीको निमन्त्रणामा पूर्व सभामुख समेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन भ्रमण गरेका थिए । त्यसलगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सांसदहरूको टोलीले पनि चीन भ्रमण गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको तयारी चलिरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा हुने भनिए पनि आधिकारिक मिति तय भएको छैन । भ्रमण तयारीका लागि प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई एजेण्डा तय गर्न निर्देशन दिइसकेका छन् । यसबीचमा परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासले पनि प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे आवश्यक तयारी गरिरहेको स्रोतको भनाइ छ । चीनले प्रधानमन्त्रीका भ्रमणका बेला बिआरआई परियोजना कार्यान्वयनको ठोस खाकाका विषयमा तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७