शरणार्थी प्रकरणमा १५ लाख धरौटीमा छुटे लगतै केशव तुलाधर लतिता निवासमा पक्राउ

दुई रोपनी जग्गा लिएको आरोप


३१ असार २०८०, आईतवार
Keshab Tuladhar2023 07 16 07 05 53

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटे लगतै केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले पक्राउ गरेको छ । तुलाधार ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।
स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा रिहा (छुटेका) भएका थिए । जिल्ला अदालत काठमाडौंले आज (आइतबार) उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको थियो ।

तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए । शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेका थिए । अनुसन्धान लगत्तै फरार भएका उनलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो ।

अदालतमा बयानको क्रममा तुलाधरले आर्थिक लेनदेन भएका वेला आफू कोभिड लागेर बिरामी रहेको र त्यति वेला आफ्ना कर्मचारी हरिभक्त महर्जनले आर्थिक कारोबार गरेको बताएका छन् । सोही आधारमा उनको धरौटी खुलेको हो । उनका कर्मचारी हरिभक्त भने यही मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै संगठित रुपमा भएको ठगी प्रकरणमा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये १६ जना थुनामा छन् भने दुई जना धरौटीमा छुटेका थिए । मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन् । यस प्रकरणमा प्रहरीले थप संकित व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७