मिटर ब्याजपीडितले मागे गृहमन्त्रीको राजीनामा


२ श्रावण २०८०, मंगलवार
miter byaj

काठमाडौं । मिटर ब्याजपीडितहरूले सरकारले ल्याएको मिटरब्याज सम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्ट जनाउँदै शान्तिबाटिकादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन समेत गरिसकेको छ । तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो । समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको जानकारी दिए ।

मिटरब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौँमा प्रदर्शनपछि पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पत्ति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरूलाई अपराधीहरूको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

समितिले नयाँ कानुनले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहु महाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहे पनि अहिले साहु महाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए ।

उनले साहु महाजनसँग भएका कागजपत्रको छानबिन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारबाही हुनुपर्ने बताए । संघर्ष समितिले मंगलबार नै काठमाडौँमा प्रदर्शनसहित संसद् भवन घेराउ गरेका छन् । उनीहरूले नयाँ विधेयक मिटरब्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७