पुटिनले ब्रिक्स शिखर सम्मेलनलाई ‘भर्चुअल’ रूपमा सम्बोधन गर्ने


२०८० श्रावण ५ शुक्रबार ०७:३१ बजे

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जोहानेसबर्गमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी नहुने निर्णय गरेको दक्षिण अफ्रिकाका एक उच्च कूटनीतिज्ञले बिहीबार बताएका छन् ।

पुटिनको सम्भावित भ्रमणले दक्षिण अफ्रिकाका लागि अगष्ट २२ देखि २४ सम्म हुने बैठकलाई कूटनीतिक र कानुनी दुविधा सिर्जना गरेको थियो । उनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेको छ, जुन प्रावधान आईसीसी सदस्यको रूपमा दक्षिण अफ्रिकाले लागू गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले बुधबार पुटिन व्यक्तिगत रूपमा उपस्थित नहुने र उनको स्थानमा विदेशमन्त्री सर्गेइ लाभरोभ जाने घोषणा गरेको थियो । एशिया र ब्रिक्सका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालले सामूहिक सहमतिअनुसार पुटिनले भर्चुअल माध्यमबाट छलफलमा भाग लिने बताएका छन् ।

‘राष्ट्रपति पुटिनले दक्षिण अफ्रिकाले सामना गरिरहेको दुविधालाई बुझ्नु भएको छ । उहाँ शिखर सम्मेलनलाई खतरामा पार्न चाहनुहुन्न र दक्षिण अफ्रिकाका लागि समस्या सिर्जना गर्न चाहनुहुन्न’, जोहानेसबर्गमा आयोजित पत्रकार सम्मेलनमा सुकलालले भने ।

प्रिटोरिया ब्रिक्स समूहका वर्तमान अध्यक्ष हो । पश्चिमी आर्थिक प्रभुत्वको प्रतिरक्षात्मक शक्तिका रूपमा हेर्ने ब्रिक्स समूहमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका छन् र यो यिनै मुलुकहरूको संक्षिप्त नाम हो । दक्षिण अफ्रिकामाथि रूसी नेतालाई स्वागत नगर्न आन्तरिक र अन्तर्राष्ट्रिय दबाब परेको थियो ।

सुकलालले पुटिनको अनुपस्थितिका बावजुद वार्ता सफल हुनेमा सरकार विश्वस्त रहेको बताएका छन् । ‘रूसी नेता पुटिनले सबै छलफलहरूमा भर्चुअल माध्यमबाट पूर्ण रूपमा भाग लिनुहुनेछ’, उनले भने । रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनी नागरिकमाथि आक्रमण गरेपछि युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको आरोप लगाउँदै पुटिनमाथि मुद्दा चलिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७