स्रोत नखुलेको १२ लाख बढी रकमसहित दुई भारतीय पक्राउ

सुनसरी । स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर भन्सार कार्यलयको २ नम्बर ढाटबाट उनीहरु शुक्रबार पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका भारत विहारका ८१ वर्षीय राम नरेश सिंह र रतिश पासवान स्रोत नखुलेको सात लाख ७९ हजार भारतीय रुपैयाँँ अर्थात १२ लाख ४६ हजार ४ सय नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । पासवान सिंहको गाडी चालक हुन् । शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ पीजी २११५ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा सो परिमाणमा स्रोत नखुलेको भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
विराटनगर भन्सार कार्यालय २ नम्बर ढाटमा सशस्त्र प्रहरीका सहायक निरीक्षक प्रमेश श्रेष्ठको कमाण्डमा रहेको टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम फेला परेको सशस्त्र प्रहरी बराह बाहिनी पकलीका डिआईजी अन्जनी पोखरेलले जानकारी दिए । पक्राउ परेका व्यक्तिको साथबाट दुई थान मोबाइल सेट पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामग्रीसहित पक्राउ परेका उनीहरुलाई राजस्व अनुसन्धान इकाइ कार्यलय इटहरीमा पठाउने तयारी गरिएको डीआईजी पोखरेलले बताए ।