नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत हो : मन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने विषय गलत भएको बताएका छन् ।
आज (शुक्रबार) सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको बताए ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी) को बैठकमा सहभागी सदस्यहरु नेपाल फर्किएपछि नेपाल ‘ग्रे लिस्ट’ मा पर्नबाट एक वर्षका लागि जोगिएको खबर सार्वजनिक भएको थियो । तर कानुनमन्त्री गुरुङले सो विषय गलत भएको दाबी गरे ।
क्यानडामा केही दिनअघि भएको एपीजीको बैठकमा नेपालको तर्फबाट कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सचिव उपस्थित भइ नेपालको तर्फबाट रिपोर्टिङ गरेअनुसार १५ दिनमा एपीजीले रिपोर्ट अध्ययन गरी नेपाललाई जानकारी दिने र आगामी अक्टोबरमा एफएटिएफको पेरिसमा हुने बैठकमा फाइनल रिपोर्ट बुझाउनुपर्ने उनले बताए ।
‘एक वर्षका लागि हामीलाई समय दिएको होइन । यो कुरा हामीले बुझ्न आवश्यक छ । भर्खरै क्यानडाको भ्यान्क्युवानमा जसन एपीजीको बैठकमा हाम्रा सचिवहरु जानुभएको थियो । कानुन मन्त्रालयको सचिव र प्रधानमन्त्री कार्यालयको सचिव, उहाँहरु त्यो सम्मेलनमा पुग्नुभएको थियो,’ उनले भने, ‘त्यो सम्मेलनले हामीले यहाँबाट दिएको रिपोर्टलाई १५ दिनभित्र उहाँहरुले यसका बारेमा अध्ययन गर्ने र त्यसका बारेमा फेरि हामीलाई रेस्पोन्स गर्ने भन्ने छ ।’
त्यसपछि फेरि अक्टोबरमा एफएटिएफको बैठक पेरिसमा हुने र त्यसमा सुधार गर्नुपर्ने उनले बताएका छन् । उक्त सम्मेलनमा फेरि फाइनल रिपोर्ट बुझाउनुपर्ने र त्यसपछि के हुने भन्ने निर्क्योल हुने बताए । ‘हामीले एक वर्ष पाइहाल्यौं भनेर सिरानी हालेर सुत्ने भन्ने होइन । यो वास्तवमा गम्भीर विषय छ । अहिले त हामीले पटक–पटक कानुन मन्त्रालयमा विदेशी नियोगका साथीहरु आउँदा हामीले त्यही कुरा भन्यौं कि हामी छलफलमा नै छौं’, मन्त्री गुरुङले थपे, ‘हामीले संसदीय समितिमा छलफल गरिरहेका छौं, त्यही रिपोर्टका आधारमा अहिले ल ठीक छ त्यसोभए अक्टोबरसम्मा फाइनल रिपोर्ट दिनुपर्छ भनिसकेको अवस्था हो। एकवर्ष दिएको छ भन्ने गलत कुरो बाहिर नजाओस् ।’