पार्टी वैठकमा मिन विश्वकर्माको प्रश्न : खाँणलाई दोषी करार गर्न कांग्रेस सर्वोच्च अदालत हो ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले दोषी हो वा होइन भनेर छुट्याउने नेपाली कांग्रेस सर्वोच्च अदालत नभएको बताएका छन् ।
आज (शुक्रबार) को केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणको बचाउ गर्दै कांग्रेस परिवार भएको र परिवारको सदस्यमाथि कुनै अभियोग लाग्यो भने वकिल राख्नु हुन्छ कि थपक्कै स्वीकारेर जेल पठाउनु हुन्छ भन्दै प्रश्न गरेका छन् ।
‘हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौं कि थपक्क लगेर थानामा बुझाउँछौँ ? मलाई यत्ति जवाफ चाहियो’, उनले भने, ‘होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेसन जाने ?’
केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘दोषी ठहर यही कार्यसमितिले गर्छ भने वकिल पनि राख्नु भएन वकिलले वहस पनि गर्नु भएन । अदालतले ठहर नगरुञ्जेलसम्म दोषी हो कि निर्दोष पत्ता नलाग्दा नेपाली कांग्रेस त्यस्तो सर्वोच्च अदालतले हो त्यसले दोषी अहिले नै ठहर गर्ने ?’ बैठकमा सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमा पार्टी पदाधीकारीले सभापतिविरुद्ध दिएको अभिव्यक्तिमा पनि उनले आपत्ति जनाएका छन् ।