सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।
आज (शुक्रबार) सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसद शर्माले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।
उनले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने बताएका छन् । अर्थमन्त्री र गृहमन्त्रीलाई सुन भित्रिएको जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उनको भनाइ छ ।
उनले भने, ‘क्विन्टल सुन भित्रिएको कुरा अर्थमन्त्री र गृहमन्त्रीले थाहा नपाउने, उहाँहरूको मातहतका निकायका मानिसले थाहा नपाउने र प्रधानमन्त्रीको कार्यालयले हस्तक्षेप गरेर सुन समातिएको देखिन्छ । देशमा क्विन्टल सुन भित्रिएको थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्छ कि पर्दैन ? यसमा पक्ष र विपक्षको कुरा रहँदैन । देश र नागरिकको कुरा हुन्छ । यहाँ पार्टीको पनि कुरा हुँदैन । गठबन्धनको भित्रको मान्छे भन्ने हुँदैन, यहाँ देश लुट्न कुनै पनि पार्टीको कुनै नेतालाई छुट छैन, त्यसैले दुई जना मन्त्रीले बाटो खुला गरेर तत्काल अनुसन्धानको विषयलाई सहज बनाइ दिनुपर्छ र प्रधानमन्त्रीले चालेको कदममा सहज हुनुपर्छ ।’