बिना सेटिङ यति धेरै सुन छिर्दैन, कुन तहको मिलेमतो भन्ने कुरा मात्र हो : रवि लामिछाने

‘हामीले गृहमन्त्रीको राजीनामा माग्यौं भने लिएरै छाड्छौं’


६ श्रावण २०८०, शनिबार
rabi 1

मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी काण्डमा अनुसन्धान गर्न सरकारलाई समय दिइनुपर्ने बताएका छन् । पछिल्लो पटक एक सय किलो बढी सुन भित्रिएको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागिहाल्नुपर्ने समय नभएको उनले बताएका छन् ।

आज (शनिबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सरकारले गलत तरिकाले अनुसन्धान भएको खण्डमा भने रास्वपाले त्यतिकै नछाड्ने चेतावनी दिए । उनले रास्वपाले गृहमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था भएको खण्डमा राजीनामा लिएरै छाड्ने दाबी गरे । लामिछानेले विमानस्थलबाट नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आएको र धेरै पटक मानिसहरु पनि समातिने घटनाले सुन तस्करी सेटिङबाटै हुने कुरा प्रमाणित गरेको बताए ।

‘कसैको राजीनामा मागेपछि लिनुपर्छ, राजीनामा माग्ने कुरा बुझेर हेरेर थाहा पाइसकेपछि गर्ने कुरा हो, भर्खरै यो विषय आएको छ, सरकारकै कुनै न कुनै निकायले पत्ता लगाएको पनि हो, केही समय पर्खिनुपर्छ, हेर्नुपर्छ’ उनले भने, ‘तुरुन्तै प्रतिक्रिया दिइहालौं भन्ने प्रतिक्रियाको दौडमा हाम्रो पार्टी छैन, गलत भयो भने हामीले राजीनामा माग्नु पर्‍यो भने लिएरै छाड्ने हो ।’

उनले सुन तस्करीको अनुसन्धान लगायतका विषयमा अघि बढेकोले सरकारका निकायलाई अनुसन्धान गर्ने समय दिनुपर्ने र त्यसलाई धैर्यताका साथ हेर्नुपर्ने बताए । लामिछानेले नेपालमा लामो समयदेखि सुन तस्करीमा जालो ठूलो रहेको कुरा तस्करीमा संलग्न रही समातिएकाहरुबाटै आएको बताए ।

‘समातिएकाहरुबाट नै म त सानो माछा हो ठूलो माछा बाँकी नै छ भन्ने भनाई आएका छन्, आम सर्वसाधारणको त एउटा मोबाइल छिर्दैन भने बिना सेटिङ त यति धेरै सुन छिर्दैन, सानो एउटा चिज त मेटल डिटेक्ट हुन्छ, मिलेमतो बेगर त हुँदैन’ लामिछानेले भने, ‘तर कसको र कुन ढंगको मिलेमतो हो भन्ने कुरा अनुसन्धानले मात्रै खुल्ला ।’

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ भएकाले कतिपय अवस्थामा गल्ती कमजोरी पनि हुनसक्ने बताए । तर अहिले सबैले कहाँ गल्ती गर्छ भनेर पर्खिएर बस्ने गरेको र पूर्वाग्राही भएर धारणा बनाउने गरेको गुनासो गरे । सानातिना गल्तीलाई पर्खिएर बस्ने भन्दा कुन मुद्दा उठायो भन्ने हेर्नुपर्ने बताए । सेनाको संख्या घटाउने बिषयसँग जोडेर पनि रास्वपालाई जबरजस्ती रुपमा बिषयबाहिर मोड्न खोजेको आरोप लगाए । उनले सेनाको संख्याको विषयमा भन्दा पार्टीले आर्मी चिफको बरियातालाई तल ल्याउन खोजिएको प्रति जोडदार कुरा उठाएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७