सबै कम्युनिष्टहरू एक ठाउँमा आउनु आवश्यकता छ : वामदेव गौतम

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आज (आइतबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक–दुईवटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए ।
उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए ।
उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताए । उनले समाजवादी मोर्चामा दुई–तीनवटा पार्टी मात्रै नभइ नेकपा एमाले, मोहन वैद्यको पार्टी लगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए । नेता गौतमले पुष्पलालले देखेको सपना साकार पार्न कम्युनिष्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने बताए ।