काठमाडौं आइपुग्यो चिनियाँ नेता जियान नेतृत्वको टोली

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली आज काठमाडौं आइपुगेको छ । टोलीले ९ साउनसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइएको छ । टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट गर्ने तालिका रहेको बताइए पनि प्रचण्ड इटाली भ्रमणमा भएकोले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेटवार्ता हुनेछ ।
निकट भविष्यमै प्रचण्डको चीन भ्रमणको तयारीस्वरुप चिनियाँ नेताहरू काठमाडौं आएको चर्चा भइरहेको छ । सीपीसीका नेताहरू निरन्तर काठमाडौं–बेइजिङ आवतजावत गरिरहेका छन् । राजनीतिक संवाद बाक्लो बनाउने नीतिमा देखिएको सीपीसी काठमाडौंमा प्रमुख दलका नेताहरूसँग निरन्तर संवादमा देखिन्छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कँदै गर्दा माओवादी नेताहरूको एउटा टोली बेइजिङ थियो । उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा केही पदाधिकारीसहित ठूलो टोली बेइजिङ गएको थियो ।
यता चिनियाँ नेताहरूको टोली काठमाडौं आउन लागेकै दिन माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोलीले भारत भ्रमणमा निस्किँदैछ । भारतीय जनता पार्टीको निम्तामा उनीहरू आज बेलुकी ५ बजे भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जेपी नाड्डाले भाजपा चिनौँ अभियानअन्तर्गत उनीहरूलाई बोलाएका हुन् । टोलीमा नेताहरू चक्रपाणि खनाल, रामेश्वरराय यादव र सुरेश राई पनि छन् ।