‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै


८ श्रावण २०८०, सोमबार
1644377491 sampada 1200x560 1
सांकेतिक तस्वीर

चितवन । ऐतिहासिक ‘दिनठान’ मन्दिरको संरक्षण गरिने भएको छ । चेपाङ समुदायको आस्थाको केन्द्रका रुपमा मन्दिर रहेको छ । कालिका नगरपालिका–१० छेरबाङमा रहेको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो ।

गत आर्थिक वर्ष २०७९/०८० मा मन्दिर संरक्षणका लागि वडामार्फत डेढ लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालिएको वडाध्यक्ष नरजङ्ग प्रजाले बताए । उनले मन्दिरको गारो लगाउने काम र काठ व्यवस्था गरिएको जानकारी दिए । बजेट अभावमा मन्दिरको छाना छाउने काम बाँकी रहेको थियो ।

दिनठान मन्दिर चेपाङ समुदायले ऐतिहासिककालदेखि पूजाआजा गर्दै आएको मन्दिर हो । यहाँ विशेष गरेर पुस मसान्त र माघे संक्रान्तिका दिन दुई दिन मेला लाग्छ । जङ्गलको बीचमा रहेको मन्दिरमा चेपाङ समुदायले बलि दिने गरेको जनाइएको छ । यहाँ दर्शन गर्नका लागि कालिका नगरपालिकासँगै इच्छाकामना गाँउपालिकाबाट पनि भक्तजन आउने गरेको मन्दिरका पुजारी शेरबहादुर चेपाङले बताए । उनले मन्दिरमा नियमित पूजा गर्दै आएका छन् ।

‘यो एतिहासिक मन्दिर हो’, उनले भने, ‘यहाँ गाउँमा महामारी फैलँदा, विपद् पर्दा धुप लगाउने र पूजा गर्ने चलन छ ।’ यहाँ नियमित पूजा नगरे गाउँमा बाघ निस्कने समेत जनविश्वास रहेको छ । चेपाङ समुदायले सिमी पन्थ भयाँरीलाई देवता मान्ने गर्छन । यो मन्दिरलाई पनि उनै देवताको रुपमा पूजाआजा गर्दै आएको शेरबहादुरले बताए ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगर क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षणका पालिकाले जोड दिएको जनाउँदै दिनठान मन्दिरको संरक्षणका लागि पनि काम गरिने बताए । उनले मन्दिरको संरक्षणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने र प्रचारप्रसार समेत गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७