कम्बोडियाको निर्वाचनमा भारी जित हासिल गरेको सत्तारुढ दलको दाबी

आलोचकहरु भन्छन्, ‘लोकतन्त्रकै खिल्ली उडाइयो’


८ श्रावण २०८०, सोमबार
Cambodia Election1690164244
तस्वीर : सिन्ह्वा

काठमाडौं । कम्बोडियाको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले आइतबार भएको आमनिर्वाचनमा भारी जित हासिल गरेको दाबी गरेको छ । तर यसपटकको निर्वाचनलाई आलोचकहरुले दशककै सबैभन्दा कम निष्पक्ष र स्वतन्त्र चुनावको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सीपीपीका प्रवक्ताले आइतबार मतदान सकिएपछि नै निर्वाचनमा भारी जित हासिल गरेको दाबी गरेका थिए । सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गर्दै भनेका थिए, ‘सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको छ । मतदानको आधिकारिक परिणाम घोषणा हुन भने बाँकी छ । यो सीपीपीको लागि अर्को ठूलो सफलता हो ।’

सीपीपीको जीतले वास्तवमा सीपीपीको नेतृत्वप्रति जनताको विश्वासलाई प्रतिबिम्बित गरेको प्रवक्ता आइसानको दाबी थियो । तर आलोचकहरुले भने प्रतिपक्षीको उपस्थिति बिना नै भएको यसपटकको निर्वाचनले लोकतन्त्रकै खिल्ली उडाएको बताएका छन् ।
राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक ५ वर्षमा एक पटक हुने निर्वाचनमा यसपटक १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका त्यहाँको सरकारको दाबी छ ।

राष्ट्रिय निर्वाचन समितिले देशभर मतगणना जारी रहेको र आधिकारिक नतिजा अगस्ट ९ मा सार्वजनिक गरिने बताइएको छ ।
कम्बोडियामा आइतबार सम्पन्न निर्वाचन सन् १९९३ पछि सातौं निर्वाचन हो । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले राष्ट्रिय सभाका सबै १२५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा शासन गर्दै आएको छ ।

यसपटक नेपालबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया पुगेका थिए । ओलीले तीन वटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री ओली कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि यही साउन २ गते त्यसतर्फ गएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७