भोजपुरमा सडक मर्मत गर्न श्रमदान अभियान


८ श्रावण २०८०, सोमबार
sadak marmaat
फाइल फोटो

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् ।

स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन् । बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मतको काम गरिएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयले स्वतस्फूर्तरुपमा सहयोग गरिरहेको उनको भनाइ छ ।

‘वडाले श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत,सम्भार गरिरहेका छौँ’, वडाध्यक्ष राईले भने, ‘प्रायः सम्पूर्ण सडक बर्सातले बिग्रिएको अवस्था छ । जुन काम स्थानीय सरकारको बजेटले गर्न सम्भव छैन । स्थानीयलाई श्रमदानमा जोडेर सडक मर्मत गरिरहेका छौँ । यो अभियान जारी रहन्छ ।’ वडाले थालेको कामलाई साथ दिँदै देश विदेशमा रहेका यहाँका स्थानीयलेसमेत आवश्यक सहयोग गरेको वडासदस्य गणेश राईले बताए ।

साउन १ गतेबाट सुरु भएको श्रमदान अभियानमा एक सय ५५ जना बढी स्थानीयले श्रमदान गरेर सडक मर्मतमा योगदान गरेको उनको भनाइ छ । ‘आफ्नो ठाउँको विकासमा आफै जुट्न आवश्यक छ’, उनले भने, ‘बाटो बिग्रिएर जनजीवन प्रभावित भएपछि श्रमदान अभियानमार्फत सडक मर्मत गरेका हौँ । हामीले थालेको अभियानलाई साथ दिँदै देशविदेशमा रहेका यहाँका स्थानीयले पनि केही सहयोग गर्नुभएको छ ।’

वडा कार्यालयले ल्याएको अवधारणाअनुसार स्थानीय युवाहरु श्रमदानमा सक्रियरुपमा खटेको स्थानीयवासी लगनबहादुर राईले बताए । आफ्नो ठाउँको लागि स्थानीय नागरिकले खेलेको सानो भूमिकाले राज्यको ठूलो बजेट खर्च हुनबाट बच्ने उनको भनाइ छ । ‘वडाले ल्याएको अभियानमा हामी युवा सक्रियरुपमा जोडिएका छौँ’, उनले भने, ‘आफ्नो ठाउँको विकास आफैँले गर्ने हो । हामीले अहिले सात किलोमिटर बढी सडक मर्मत गरेका छौँ । हामीले गरेको श्रमदानले राज्यको केही बजेट जोगिएको छ ।’

श्रमदानमार्फत सडकको नाली कटाउने, खाल्डाखुल्डी पुर्ने, आसपासको झाँडी हटाउनेलगायतका काम भइरहेको स्थानीय युवा रामचन्द्र राईले बताए । सडकको मर्मतमा स्थानीय सक्रिय भएर लागेपछि अहिले आवतजावतसँगै खाद्यान्न ढुवानीमा सहजता थपिएको उनको भनाइ छ । ‘स्थानीय आफै मिलेर सडक मर्मत गरेपछि आवतजावतमा सहजता छ’, उनले भने, ‘बिरामी हुँदा घरसम्म एम्बुलेन्स आउन सक्छ । आफ्नो ठाउँको विकासलाई दिगो बनाउन स्थानीय आफै अग्रसर हुन आवश्यक छ । श्रमदानमार्फत सडक मर्मत गरेपछि हामीलाई सहज भएको छ ।’

बर्सातको कारण वडाभित्रका विभिन्न ठाउँका सडकमा क्षति पुगेकोपछि सहज आवतजावतको लागि सडक मर्मत गरिएको स्थानीय शिक्षक हर्कराज राईले बताए । वडाले थालेको अभियानमा स्थानीयले उत्साहजनक रुपमा श्रमदान गरेको उनको भनाइ छ । युवाको सक्रियतामा भएको श्रमदान अभियानमार्फत सात दिनमा रु पाँच लाख बढीको काम भएको स्थानीय सीताराम राईले बताए । धेरै ठाउँमा सडक बिग्रेको कारण वडामा आएको बजेटले सडक मर्मत गर्न असम्भव भएपछि श्रमदानमार्फत काम गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७