सभामुखसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेताको भेटवार्ता, चीन भ्रमणको निम्तो


२०८० श्रावण ८ सोमबार ०७:४३ बजे

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

काठमाडौंमा आज (सोमबार) भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदानलगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लो स्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका थिए ।

‘सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,’ उनले भने, ‘द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने बताएका थिए । उनले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको पारवहन सन्धि र रसुवागढी–केरुङ रेलमार्गको विकासका लागि जोड दिए ।

जनगणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चानशुको गएको वर्ष भएको भ्रमण र नेपालको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको एक महिनाअघि भएको भ्रमणले संसदीय आदान प्रदान विस्तारित हुँदै गएको सभामुख घिमिरेको भनाइ थियो ।

सीपीसी नेता युआन च्या च्युनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने बताए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरे । नेता च्युनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तो समेत दिए । सोमबार नै एलआरआई स्कुल कलंकीमा भएको कार्यक्रममा सभामुख घिमिरे र नेता च्युनले भाषा ल्याबको सुरुवात गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७