ग्रामीण सडक अवरुद्ध हुँदा सास्ती


८ श्रावण २०८०, सोमबार
Rad myadi

म्याग्दी । बाढी पहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् ।

भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाको समयमा अवरुद्ध हुने गरेका हुन् । सडकमा खाल्टाखुल्टी हुनुका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन् । जिल्लाको देविस्थान, मुदी, मुना, ओखरबोट, दिच्याम, रुम, निस्कोटलगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध बनेका छन् ।

पहिरोका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भएको दरवाङ–ओखरबोट सडकमा जीप चलाउँदै आउनुभएका विकल पुनले बताउनुभयो । उहाँका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न स्थानीयले दबाब दिँदै आएका छन् । बर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने गरेको मालिका गाउँपालिका–५ देविस्थानका वडाध्यक्ष मीम पुनले बताए ।

‘ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या छ’, उनले भने, ‘अहिले अनावश्यकरुपमा रकम खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि सडक स्तरोन्नति गर्दा प्रभावकारी हुने भएकाले वर्षापछि मर्मत गर्ने तयारी गरिरहेका छौँ ।’ त्यस्तै, धवलागिरि र मङ्गला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएपछि गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पुर्‍याउन समस्या भइरहेको स्थानीयले बताएका छन् ।

मालिका गाउँपालिका–५ देविस्थान र ३ रुममा उत्पादन भएका आलु तथा तरकारीका साथै जङ्गलमा सङ्कलन गरिएका रातो च्याउ बजारमा पुर्‍याउन समस्या भएको किसान प्रेम सिउथानी मगरले बताए । ‘मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नं ५ को देवीस्थान जाने सडकमा यातायातका साधन नगुडेको डेढमहिना भयो’, उनले भने, ‘सामान्य वर्षा हुँदा समेत बाटो बिग्रिएपछि दरवाङबाट चार घण्टा पैदल हिँडेर स्थानीय जाउआउ गर्न बाध्य भएका छन् ।’

गाउँपालिका र नगरपालिकाबाट बजेट विनियोजन गरी निर्माण भएका अधिकांश सडक पहिराका कारण अवरुद्ध भएका दरवाङका व्यवसायी अमृत सापकोटाले बताए । पालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा आवागमनमा सास्ती खेप्नु परेको उनको भनाइ छ । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएकाले वर्षामा खाल्डाखुल्डीका कारण गाडी गुड्ने अवस्थामा नभएको सापकोटाले बताए ।

‘डेढ दशक अगाडिसम्म यहाँका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो । बस्ती मोटरबाटोले जोडिएका थिएनन् । सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नु पथ्र्यो वा पैदल हिँड्नु पथ्र्यो । भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटो रमाइलो हुन्थ्यो’, उनले भने, ‘अहिले जिल्लाका सबै वडा तथा टोलटोलमा सडक पुगेको छ । स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ ।’ धवलागिरि गाउँपालिका–१ गुर्जामा बाहेक बस्ती बस्तीमा सडक पुगेको उनको भनाइ छ ।

पाँच वर्षको अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका छ स्थानीय तहमा ७४ ग्रामीण सडक निर्माण भएका जिल्लास्थित पूर्वाधार विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सडक विस्तारले ग्रामीण जनजीवनमा विकास र परिवर्तनत ल्याए पनि प्राकृतिक स्रोतको विनास पनि गरेको स्थानीय बताउँछन् ।

ग्रामीण सडक स्तरोन्नति हुँदा ऐतिहासिक र पुरातात्विक सम्पदा नासिनुका साथै वर्षाको समय ती सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भइरहेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताए । ‘बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पु¥याइरहेको छ’, उनले भने ।

स्थानीय तहले प्रत्येक हरेक वर्ष सडक निर्माणका लागि करोडौँ बजेट खर्च गरे पनि सडक गुणस्तरीय नहुँदा स्थानीयले सास्ती भोग्नु परेको श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार ग्रामीण क्षेत्रका धेरैजसो सडकमा वर्षा सुरु भएपछि गाडी सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ । ‘सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै नभई पाँच वर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिएका ठाउँमा समेत अहिले सडक पुगेको छ’, श्रेष्ठले भने, ‘सडकले गाउँका नागरिकलाई सुविधासँगै सास्ती पनि दिएको छ ।’ बर्षाको समयमा सडकका कारण पनि बाढी पहिरोको जोखिम बढेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७