अहिलेलाई गठबन्धनमै अघि बढ्ने हाे, ०८४ को चिन्ता ०८३ मा गरौँला : विश्वप्रकाश शर्मा


२०८० श्रावण ८ सोमबार ०६:५८ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काललाई हाल सत्तामा रहेको वाम–लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नभएको बताएका छन् ।

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार जवाफ दिने क्रममा उनले भने, ‘मंसिर ४ अघिको गठबन्धनको पुनर्प्राप्ति भएको छ । गठबन्धनलाई बलियो बनाएर जाने र निरन्तरताको खोजीको प्रतिबद्धता हामीबीच हुनुपर्छ’, उनले भने, ‘साथीहरु २०८४ सालको चुनावको पनि कुरा पनि गर्नु हुन्छ । तर ०८४ को चिन्ता ०८३ लागेपछि गरौँला । अहिलेलाई गठबन्धनमै अघि बढ्ने हो ।’

उनले अर्को चुनावमा गठबन्धन गर्ने वा एक्लै जाने कुरा अहिले चिन्ता गर्नु नपर्ने पनि बताएका छन् । ‘हामी अर्को चुनावमा गठबन्धन गर्छौ या एक्लै जान्छौँ त्यो अहिले चिन्ताको विषय होइन’, उनले भने, ‘सरकारलाई कायम राख्दै गर्दा हामीलाई डेलिभरी चाहिन्छ । त्यसका लागि कांग्रेसले राम्रा कुराको अपनत्व र नराम्रा कुराको आलोचना ग्रहण गर्दै अघि बढ्नु पर्छ ।’

उनले सरकारले ल्याएको नागरिकता विधेयकको अपनत्व कांग्रेसले लिने बताएका छन् । ‘यो सरकारको कमजोरीको आलोचना गर्ने र राम्रा कुराको स्वामित्व लिने काम हाम्रो हो । भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने कुरा भएको छ । युवालाई बेचिराखेर अर्थतन्त्र धानिरहेको देशमा अब बिजुली बेचेर बलियो बनाउनु पर्छ’, उनले भने, ‘भ्रष्टचारविरुद्ध फाइल खुलेको छ । व्यक्ति को पर्दैछन् भन्ने मुख्य कुरा होइन। नक्कली शरणार्थी या ललिता निवास सबैको फाइल खुलेको छ । सरकारले फाइल खोल्दै गर्दा त्यसलाई तागत दिने काम कांग्रेसले गरेको छ ।’

महामन्त्री शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरेका छन् । उनले कालोमोसो दल्ने कार्यकर्ताको सदस्यता तत्काल खारेज गर्नुपर्ने बताए । उनले भने, ‘पार्टीको कुनैपनि तह वा भ्रातृ वा शुभेच्छुक संस्था मर्यादित हुनैपर्छ । एक ठाउँमा कुनै घटना हुँदा देशभरको कांग्रेस आलोचित हुन्छ । यो विषयमा नीति महाधिवेशनबाट नीति नै बनाएर जानुपर्छ । कानून हातमा लिने र कालोमोसो दल्नेलाई कारबाहीको लागि कठोर हुनुपर्छ ।’ उनले पार्टी सभापतिलाई सुझाव दिंदै भने, ‘साथी छायाँ जस्ता होइन, ऐना जस्तो बनाउनुस्, आलोचनालाई ग्रहण गर्नुस् ।’

‘एउटा पदमा पराजित व्यक्तिलाई त्योभन्दा माथि मनोनीत नगरौं’
महामन्त्री विश्वप्रकाश शर्माले पार्टी अधिवेशनमा एउटा पदमा पराजित भएको व्यक्तिलाई त्यो भन्दामाथि मनोनीत नगर्न प्रस्ताव गरेका छन् । उनले भने, ‘पार्टीको अधिवेशनमा एउटा पदमा पराजित व्यक्तिलाई सोही कार्यकालमा माथिल्लो तहमा मनोनीत गर्ने भन्ने कुराले त्यही तहको साथीलाई मसँगै हारेको मभन्दा माथि गयो भन्ने पर्छ । त्यसरी माथि जाँदा उसको प्रश्न गर्ने क्षमता पनि भुत्ते हुँदै जान्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७