समाजवादी मोर्चा कांग्रेसकै सहमतिमा बनेको हो : पूर्णबहादुर खड्का


२०८० श्रावण ८ सोमबार ०८:०२ बजे

काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समाजवादी मोर्चा कांग्रेसकै सहमतिमा गठन भएको स्पष्ट पारेका छन् । आज (सोमबार) पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पुस १० गते राति गठबन्धन पुनःस्थापित गर्दै तीन दलीय मोर्चा बनाउने सहमति भएको बताएका छन् ।

‘पुस १० गतेको सम्झौताअनुसार बनेको हो, कांग्रेसको सहमतिमै बनेको हो । पुस १० मा भत्किएको गठबन्धन पुनः स्थापना गर्ने बालुवाटारमा चार दलका नेताको बीचमा गठबन्धन पुनः स्थापना बारेमा जे खाले सहमति भयो, त्यसैको सन्दर्भमा उनीहरूको मोर्चा बनेको हो । सोही विश्वासको वातावरण बन्छ र अविश्वास घट्छ भनेर त्यही राति तनि दलको बीचमा समाजवादी मोर्चा बनाउने सहमति भएको हो’, उनले भने । खड्काले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने जस्तै कांग्रेसलाई थाहा भएर मोर्चा बनेको बताए ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा अन्तर्वार्तामा कांग्रेसको सहमतिमा मोर्चा बनायौं भन्नु भएको छ । कांग्रेसले यसै रूपमा बुझ्नुपर्छ’, उनले भने ।
‘सभापतिले नबोलाए पनि महामन्त्रीहरू भेट्न जानुपर्छ’
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका महामन्त्री पद सभापति र संस्थाको सल्लाहकार पद भएको बताएका छन् । केन्द्रीय समितिमा धारणा राख्दै उनले महामन्त्रीहरू नबोलाएका बेला पनि सभापतिकोमा जानुपर्ने बताए ।

‘महामन्त्रीजीहरूले बोल्ने बेला भन्नुभयो सभापतिले बोलाएका बेलामा हामी जाने गरेका छौं । मेरो यसमा थप सुझाव छ, बोलाएका बेला मात्र होइन कि महामन्त्रीको जिम्मेवारी र पद सभापति र संस्थाका लागि कार्यकारी सल्लाहकार पद पनि हो,’ उनले भने ।

उनले टिकट बाँड्दा भएका कमजोरीको जिम्मेवारी लिने पनि बताए । उनले कर्णाली प्रदेशमा टिकट वितरणमा केही कमजोरी देखिएको बताए । ‘विधिअनुसार टिकट वितरण गरिएको छ, तैपनि कुनै कमजोरी भएको भए म संसदीय समिति सदस्य भएकोले जिम्मेवारी लिन्छु,’ उनले भने ।

उनले पार्टीमा गुट अन्त्य नहुने पनि बताए । उनले विचार समूह वा गुटलाई नर्कान नसकिने बताए । ‘पार्टीभित्र विचार समूह हुन्छ यसलाई नकारेर हुँदैन । विचार समूह हुन्छ । बीपी, गणेशमान, किसुनजीलगायतको पनि थियो । पार्टीभित्र निर्णय गर्दा अधिवेशनमा जाँदा कहिलेकाँही नीतिगत निर्णयमा जाँदा विचार समूह बन्छ । त्यसलाई व्यवस्थित गर्ने र सँगै लिएर जाने महत्वपूर्ण कुरा हो,’ उनले भने । उनले पार्टीमा गुनासो नहुने गरी काम गर्नु नै पार्टी सुधार र रुपान्तरण भएको बताए । आएका गुनासाहरू सभापतिले सभापतिको तहबाट र पदाधिकारीहरूले आफ्नो तहबाट सुधार गर्नुपर्ने धारणा राखे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७