पहिरोले विद्यालय भवनमा क्षति


९ श्रावण २०८०, मंगलवार
pahiro photo
फाइल फोटो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्‍याएको छ ।

पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले छ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताए । ‘भवनको गारो र भुई चर्किएर बस्न नमिल्ने अवस्था छ’, उनले भने, ‘सबैभन्दा जोखिम भएको कक्षा ४ का विद्यार्थीलाई कक्षा ५ मा सँगै राखेर पढाएका छौ । अरु भवन पनि भत्कने अवस्थामा छन् ।’

४५ विद्यार्थी रहेको उक्त विद्यालयको जीर्ण भवनमा बसेर पढ्न विद्यार्थीहरु डराएका छन् । दुई कोठे शौचालयकोे गारो चिरा परेर प्रयोग गर्न नमिल्ने भएको छ । विद्यालय भवनको मुनी गत हिउँदमा सडक निर्माण गरिएकाले अहिले सडकबाट पहिरो बग्न थालेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदी र प्राविधिकहरुको टोलीले मङ्गलबार पहिरोको जोखिममा रहेको विद्यालय निरीक्षण गरेका छन् । उनीहरूले तत्काल थप क्षति हुन नदिन तथा पठनपाठनमा असर पर्न नदिन व्यवस्था मिलाइने र दीर्घकालिन समाधानका लागि पहल गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७