अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ


९ श्रावण २०८०, मंगलवार
Narayankaji 6
फाइल फोटो

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए ।

उनले भने, ‘ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।’ तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो । त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनसुन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे । ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइदैन’, उनले भने ।

भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताए । आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको उनले उल्लेख गरे । पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए ।

विकास र समृृद्धिका सवालमा समेत सरकारले समीक्षा गरिरहेको उनले बताए । उनले भने, ‘अर्थतन्त्रका सवालमा केही समस्या थिए, त्यसलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि लयमा ल्याउने काम भइरहेको छ ।’ अर्थतन्त्रको गतिलाई तीव्र बनाएर विकासमा फड्को मार्नुपर्ने अहिलको आवश्यकता रहेको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७