पहिलो चरण उम्मेदवारी :सबैभन्दा बढी दोलखामा र कम मनाङमा  


६ कार्तिक २०७४, सोमबार
Yogesh Bhattarai 3

काठमाडाैं :  पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ ।  प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

Yogesh Bhattarai 3
फाइल तस्बिर ।

यस निर्वाचनमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको र ७४ निर्वाचन क्षेत्रमा प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ ।  निर्वाचन आयोगका अनुसार एक निर्वाचन क्षेत्र भएको दोलखामा प्रतिनिधि सभाका लागि विभिन्न दलका १६ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि २४ जनाको उम्मेदवारी परेको हो ।

त्यस्तै एक निर्वाचन क्षेत्र भएको मनाङमा प्रतिनिधि सभाका लागि दुईजना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।  दोलखापछि रामेछापमा बढी उम्मेदवारी परेको छ । एक निर्वाचन क्षेत्र भएको रामेछापमा प्रतिनिधि सभाका लागि १४ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि २२ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मनाङपछि मुस्ताङमा कम उम्मेदवारी परेको छ । एक निर्वाचन क्षेत्र भएको मुस्ताङमा प्रतिनिधि सभाका लागि दुईजना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि छजनाको उम्मेदवारी परेको छ ।  निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको छ ।

उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।  आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति यही कात्तिक १६ गते रहेको छ ।

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नुहुनेछ । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरूले यसअघि असोज २९ गते नै आ–आफ्नो पार्टीको बन्दसूची आयोगमा बुझाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७