कोशी सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै


२०८० श्रावण १० बुधबार ०७:३८ बजे

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ । मंगलबार जवाफी बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

रिटमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले तीन सदस्यीय पूर्ण इजलास गठन गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ । सोमबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । सोही आदेशबमोजिम सर्वोच्चले तीन सदस्यीय इजलास गठन गरेको हो ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले कोशी सरकारलाई दिर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो । एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए ।

रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य तथा सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७