बागलुङमा वरिष्ठ सईको हत्या होटल सञ्चालकले गरेको प्रहरीको निष्कर्ष

पौडेलको शव परीक्षण पोखरामा हुने


१० श्रावण २०८०, बुधबार
police death baglung

बागलुङ । बागलुङमा मृत भेटिएका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेलको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

उनी मृत भेटिएका होटलका सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान गर्दा वरिष्ठ सई हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीका अनुसार होटलमा खाजा खान गएका पौडेलसँग सामान्य विवाद हुँदा उनीहरू कुटपिटमा उत्रिएका थिए ।

निर्घात् कुटपिटबाट बेहोस् भएका पौडेललाई आमा–छोरा मिलेर कपडाले घाँटी कसेर हत्या गरेको खुलेको डिएसपी केसीले जानकारी दिए । पौडेल मंगलबार बिहान २ बजे मृत फेला परेका थिए । घटनापछि आशा र उनका छोरालाई पक्राउ गरी थप अनुसन्धान गर्दा उनीहरूले नै हत्या गरेको खुलेको हो ।

‘मंगलबार राति साढे १२ बजे नै हत्या भइसकेको रहेछ,’ डिएसपी केसीले भने, ‘पौडेलले लगाएको सुनको सिक्री उनीहरूको किचन र्‍याकमा लुकाई राखेको अवस्थामा फेला परेको छ ।’ उनीहरूविरूद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले जानकारी दिए ।

पौडेलको शव परीक्षण पोखरामा हुने

होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको शव परीक्षण गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँको निर्देशनमा उनको शव परीक्षणको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोमबार राति मृत फेला परेको खबर सार्वजनिक भए पनि प्रहरीले मङ्गलबार साँझ उनको शवपरीक्षणको लागि धौलागिरि अस्पताल बागलुङ ल्याएको थियो ।

प्रहरी प्रधान कार्यालयले पोखरा पठाउन निर्देशन दिएकाले बागलुङमा शवपरीक्षण नगरी पोखरा पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए । इञ्चार्ज पौडेल मृत फेला परेको होटलका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आजै उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७