अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन निर्देशन


२०८० श्रावण १० बुधबार ११:०७ बजे

काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

आज रक्षा मन्त्रालयमा विपद् व्यवस्थापन लगायतका विषयमा भएको बैठकमा उनले विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । छलफलमा कार्यबाहक प्रधानमन्त्री खड्का समक्ष सम्वन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्दार तथा राहतलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानूनी वाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।

उनले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीलाई विपद्को पूर्व आँकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काको अध्यक्षतामा बसेको आजको बैठकमा गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु समेतको उपस्थिति थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७