मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान


२०८० श्रावण १० बुधबार ०७:५८ बजे

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५ पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनका कारण ३३ पशु चौपाया मरेको गाउँपालिकाले जनाएको छ ।

यहाँका चार सय ७३ पशु चौपाया सो रोगबाट संक्रमित छन् भने तीन सय ८७ को उपचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिए । गाउँपालिकाअन्तर्गत रहेको पशु सेवा शाखाबाट कृषकको घर गोठमै पुगेर खोप तथा उपचार सेवा सञ्चालन गरिएको र आवश्यकताअनुसार खोप र उपचारका कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । गाई, भैँसी, याक र चौँरीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।

पछिल्लो समय लम्पी स्किनका कारण जिल्लाका अधिकांश क्षेत्रका कतिपय पशु चौपाया मरेका छन् भने धेरैजसो संक्रमित छन् । फुङ्लिङ नगरपालिकासहितका स्थानीय तहले लम्पी स्किन विरुद्धका खोप अभियान चलाइरहेका छन् । संक्रमण तीव्र रुपमा फैलिएर गाई, गोरु थला परेपछि किसान मारमा परेका छन् । दूधजन्य वस्तुको उत्पादन र बिक्री नहुँदा साथै धान रोप्नका लागि खेत जोत्न गोरु उपलब्ध नहुँदा किसान समस्यामा परेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७