पर्यटकीयस्थल ‘चिण्डो पोखरी’ सफा गर्न श्रमदान


११ श्रावण २०८०, बिहीबार
Chindo Pokhari1690440963

खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा निर्माण गरिएको बाबु (चिण्डो) पोखरी जनश्रमदानमार्फत सफा गरिएको छ । वर्षात्को भलबाढीका कारण पोखरी पुरिएपछि वडा कार्यालय खिदिमाको पहलमा स्थानीय बासिन्दा भेला गराएर पोखरीमा भरिएको ढुङ्गा, गिट्टी तथा बालुवा निकालिएको हो ।

साकेला गाउँपालिकाको लगानीमा दुई वर्षअघि निर्माण गरिएको उक्त पोखरी वर्षातको भलका कारण पुरिएको थियो । किराती मिथक र मुन्धुममा आधारित रहेर निर्माण गरिएको उक्त चिण्डो पोखरी पुरिएर अस्तित्व नै हराउन लागेपछि श्रमदानमार्फत सफा गरिएको वडाध्यक्ष गोविन्द तामाङले बताए । जनश्रमदान गर्न खिदिमाका एक सयभन्दा बढी स्थानीयको साथमा जनप्रतिनिधि, राजनीतिककर्मी, कर्मचारी तावाभञ्ज्याङ पुगेका थिए ।

उक्त पोखरी सफा गर्न र जनश्रमदानलाई साथ दिन साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राईको पनि उपस्थिति थियो । स्थानीय नागरिकसँगै गाउँपालिका प्रमुख र उपप्रमुख दुवैले पोखरीमा भरिएको बालुवालाई निकालेर व्यवस्थापन गर्न सहयोग गरेका थिए ।

वडा कार्यपालिकाले चलाएको श्रमदान अभियान उदाहरणीय भएको बताउँँदै गाउँपालिका प्रमुख राईले अन्य वडाले पनि विकासका कार्यमा श्रमदान अभियान सञ्चालन गर्न जरुरी रहेको बताएका छन् । ‘विकासका संरचना बिग्रदै गएको छ, त्यसलाई सपार्न करोडौँ रकमखर्च हुन्छ, जनताको प्रत्यक्ष सरोकार राख्ने प्रकारका भौतिक विकासमा श्रमदान अभियान चलाउन सके राज्यको करोडौँ रकम जोगिन्छ’, गाउँपालिका प्रमुख राईले भने, ‘गाउँपालिकामा सञ्चालित योजनालाई दीगो र उपयोगी बनाउन हरेक वडामा श्रमदान अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । यसमा सबैको साथ आवश्यक छ ।’

नेपाल सरकारको एक सय वटा गन्तव्यको सूचीमा समावेश मुन्धुम ट्रेलसँगै जोडिएको उक्त चिण्डो पोखरी सफा गर्न कम्तीमा पनि रु दुई लाख ५० हजार रकम लाग्ने अनुमान थियो । श्रमदान अभियानमा खुवाइने खाजा समेत स्थानीयस्तरमा उत्पादन हुने खाद्य वस्तुको प्रयोग गर्ने गरिएको छ । आयातित सामग्रीलाई प्रतिबन्ध गर्दै वडाबाट सञ्चालन गरिने कार्यक्रम स्थानीय उत्पादनलाई प्राथिमकता दिइने निर्णय गरिएको वडाध्यक्ष तामाङले जानकारी दिएका छन् । खिदिमामा हुने विकासे योजनाको मर्मत गर्नका लागि श्रमदान अभियानलाई निरन्तरता दिन वडा कार्यपालिकाबाटै निर्णय गरिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७