बंगलादेशमा विरोध प्रदर्शनअघि ५०० बढी पक्राउ परेको विपक्षीको दाबी


१२ श्रावण २०८०, शुक्रबार
bangladesh1 kvp6ZQY7MY

ढाका । बंगलादेशको राजधानी ढाकामा सरकार विरोधी प्रदर्शन हुनुभन्दा एक दिनअघि प्रहरीले सयौं समर्थकलाई पक्राउ गरेको बंगलादेशको प्रमुख प्रतिपक्षी दलले बिहीबार जनाएको छ ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का प्रवक्ता जहिर उद्दिन स्वपनले एएफपीसँग भने, ’प्रहरीले बुधबारदेखि हाम्रा कम्तीमा पाँच सय ३८ जनालाई पक्राउ गरेको छ ।’ ढाका नगर प्रहरीका प्रवक्ता फारुक अहमदले अधिकारीहरूले बुधबारदेखि अहिलेसम्म तीन सय ६६ जनालाई हिरासतमा लिएको तर उनीहरूको राजनीतिक पृष्ठभूमिबारे कुनै टिप्पणी नगरेको बताए ।

ढाका प्रहरीका डेपुटी कमिसनर हयातुल इस्लाम खानले राजधानीको एक होटलमा बीएनपीका केही समर्थकलाई पक्राउ गरिएको बताए । स्थानीय दैनिक प्रोथोम आलोले प्रहरी स्रोतलाई उद्धृत गर्दै बीएनपीका तीन सय ६६ समर्थकसहित चार सय ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र जनवरीमा हुने निर्वाचन तटस्थ कामचलाउ सरकारको नेतृत्वमा हुनुपर्ने माग गर्दै बीएनपी र दर्जनौं साना सहयोगीले बंगलादेशभर विरोध प्रदर्शनको आह्वान गरेका छन् ।

प्रधानमन्त्री हसिनाले यो माग असंवैधानिक भएको भन्दै सहमतिका लागि अस्वीकार गरे। हसिनाको अवामी लिगले सन् २००९ देखि विश्वको आठौं ठूलो जनसंख्या भएको देशमा शासन गर्दै आएको छ र उनीमाथि मानव अधिकार उल्लंघन र भ्रष्टाचारको आरोप लागेको छ ।

प्रहरीले बिहीबार प्रदर्शनका लागि अनुमति दिन अस्वीकार गरेको थियो तर मुस्लिम बाहुल्य बंगलादेशमा शुक्रबार ¥याली हुनसक्ने बताएको थियो । यस महिनाको सुरुमा भएको प्रदर्शनमा दशौं हजार मानिस सहभागी भएका थिए । गत जुलाई १८ मा भएको झडपमा एक जना विपक्षी कार्यकर्ताको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए ।

पश्चिमा सरकारहरूले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्, जहाँ हसिनाको पार्टी विधायीकामा हावी छ । उनको सुरक्षा बलमाथि दशौं हजार विपक्षी कार्यकर्तालाई हिरासतमा लिएको, गैरन्यायिक मुठभेडमा सयौंको हत्या गरेको र सयौं नेता तथा समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७