वीरगञ्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै


१२ श्रावण २०८०, शुक्रबार
water avab mahotari

वीरगञ्ज । खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।

महानगरले वडामा पानी वितरणका लागि समय तालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए । बिहान ५ः०० देखि राति ८ः०० बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने महानगर प्रमुख सिंहको भनाइ छ ।

ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सातवटा वडाको विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ । यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ ।

खानेपानीको पाइप लाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईले जानकारी दिए । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ ।

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ । यता वीरगञ्ज महानगरपालिकाभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ । चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख ई नीरन महर्जनले जानकारी दिए ।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०–१२ घण्टा धारामा पानी पठाउँदै आएको छ । ‘पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले रुचि देखाएनन्’, प्रमुख ई महर्जन भन्छन्, ‘तर अहिले चापाकललगायत खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको संख्या बढेको छ । धारा लिन आउनेलाई हामीले ग्राहक बनाएर धारा दिइरहेका छौँ ।’

कुल एक लाख ४० हजार जनसंख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् । दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगञ्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख महर्जन बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७