आज रक्तसञ्चार दिवस


१२ श्रावण २०८०, शुक्रबार
SBN Tanahun RSS Blooddonation2

काठमाडौं । देशभर आज ५८औं रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । विसं २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन् ।

केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताए । केन्द्रको गत वर्षको तथ्याङ्कानुसार नेपालमा वार्षिक चार लाख ५० हजार युनिट रगत आवश्यक पर्छ । मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले जानकारी दिए ।

‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ । अहिले देशभर एक सय १९ रक्तसञ्चार केन्द्र छन् । त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै पाँच प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा जिल्लास्तरीय रक्तसञ्चार सेवा छन् ।

केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक पौडेलका अनुसार रगतसँगै रक्ततत्वको बढ्दो मागसँगै रक्तदाताको संख्या बढाउन, रगत परीक्षणमा नयाँ प्रविधिको प्रयोग गर्न, रक्त सेवा शुल्कको एकरुपता, रक्तसञ्चार केन्द्रको आर्थिक सवलीकरण र दीर्घकालीन सेवा प्रवाह चुनौतीको रूपमा रहेका छन् । यस्तै रगतको चिकित्साजन्य प्रयोग चुनौतीका रूपमा रहेको छ । नियमितरूपमा रक्तदाताको संख्या बढाउन साझेदार निकायले आह्वान गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७