‘अरबा–अर्बाइन’ विधिसँगै छठ पर्व शुरु


प्रकाशित मिति : October 23, 2017

बर्दिवास : महोत्तरीसहित मुलुकका विभिन्न भागमा श्रद्घा र निष्ठापूर्वक मनाइने छठ पर्व आज ‘अरबा–अर्बाइन’ विधिसँगै शुरु भएको छ । सामान्यतया कात्तिक शुक्ल चौथीदेखि पर्व विधिवत् शुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर व्रतको संकल्प गरिने ‘अरबा–अर्बाइन’ विधिसँगै व्रतालुले छठको तयारी शुरु गरेका हुन् ।

अरबा–अर्बाइन गरेका व्रतालुले चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिमा राति एकछाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइने ‘सझुका अरख’ (सझिंया–घाट) दिएर सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर ‘भोरका अरख’ विधि सम्पन्न गर्दै यो पर्व समापन गरिने परम्परा छ ।

षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिनसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल व्रतालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् । उपासकको इच्छित माग पूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुख र रोगब्याधी नलाग्ने हिन्दू परम्पराको मैथिल जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका सहप्राध्यापक ध्रुव राय बताउँछन् ।

बिशेषगरी ‘षष्ठी’ तिथिकै स्मरणमा मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान्को भनाइ छ । मुख्यतः सूर्यकै उपासना व्रतको अभीष्ट भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसंग गाभिएको सहप्रध्यापक राय बताउँछन् ।

एक फरक प्रसंगमा दैत्यराज त्रिपुरासुरले दुःख दिएर आहत भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्न सक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान् शिवको विर्यपात भएको र विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकाले सन्तानको कल्याण गर्ने देवीका रुपमा समेत यस पर्वमा छठी माईको महत्ता गाइने गरिएको जनश्रुति छ । पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्व प्रशासक जलेश्वर–४ का बासिन्दा कृष्णचन्द्र झाले बताए।

यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ । द्वापर युगमा भगवान् श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा शुरु भएको विश्वास गर्दै आइएको महोत्तरी मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठका पूर्व प्राचार्य प्राध्यापक ताराकान्त झाले बताए ।

यो पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएको यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्घिजीवीको भनाइ छ ।

रासस

प्रतिक्रिया दिनुहोस्