अवैध सम्पत्ति आर्जनको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ


२०८० श्रावण १४ आइतबार ०७:१८ बजे

बोगोटा । कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई आफ्नोे चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको शनिबार बताएका हुन् ।

कोलम्बियाका पहिलो वामपन्थी राष्ट्रपतिले ट्विटरमा लेखेका छन्, ‘प्रहरीले उहाँका छोरा निकोलस र निकोलसकी पूर्व पत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ ।’ निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अरू तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी सहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको गएको मार्चमा आरोप लगाइएको थियो ।

पेट्रोले लेखेका छन्, ‘म मेरो छोरालाई भाग्य र शक्तिको कामना गर्दछु । यी घटनाहरूले उनको चरित्र निर्माण गरोस् र तिनले आफ्ना गल्तीहरू प्रतिविम्बित गरून् ।’ ‘एक व्यक्ति र बुबाको रूपमा यति धेरै आत्म–विनाश देख्दा पीडा हुन्छ’, उनले थपे ।
अभियोजकले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध सम्वर्द्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन् ।

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपको खण्डन गर्दै आएका थिए । उनी आफैले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए । निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीका लागि सांसद थिए । निकोलसको बैंक रेकर्डहरूबाट उनीसँग सांसदका रूपमा आर्जन हुने सम्पत्तिको तुलनामा धेरै पैसा देखिएको जनाइएको छ । रासस÷सिन्ह्वा

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७