माओवादी बैठकमा वर्षमानको प्रस्ताव : सुन तस्करी छानबिन गर्न संसदीय समिति बनाऔँ


१५ श्रावण २०८०, सोमबार
barsaman pun1615888795

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करीबारे छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन् ।

आज (सोमबार) बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपमहासचिव पुनले एक क्वीन्टल सुन तस्करीबारे छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन माग गरेका हुन् । पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमूलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए ।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रूपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको उनले बताए । पुनले आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एक पटक डेरामा लिएर आएको पनि बताए ।

‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्वीरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’ पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको, उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरे ।

उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताए । पुनले छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गरे । ‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ, त्यो बनाएर छानबिन हुनैपर्छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७