सामुदायिक सरह सुविधा दिन निजी विद्यालयलाई फिदिम नगरको निर्देशन


१५ श्रावण २०८०, सोमबार
fidim

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ ।

संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम नगरपालिकाले नगरको शिक्षा नियमावली २०७४ को नियम १३ को उपनियम २ बमोजिम गर्न निर्देशन दिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङका अनुसार उक्त उपनियममा फिदिम नगरपालिकाभित्र सञ्चालन हुने सबै संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई तहअनुसार सामुदायिक विद्यालय सरह सुविधा दिनुपर्ने व्यवस्था छ । उक्त उपनियमले तलब स्केल, दशैँ खर्च, बिदा, तालिम र ज्येष्ठता भत्ता सामुदायिक विद्यालयको सरह हुनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै सोही नियमावलीको नियम १३ को उपनियम ३ मा शिक्षक कर्मचारीका लागि नियमित तलबबाट निश्चित प्रतिशत रकम छुट्टयाइ सोही बराबर रकम थप गरी सञ्चयकोषको प्रवन्ध गर्नुपर्ने, उपनियम ५ मा शिक्षक तथा कर्मचारीका दुई जनासम्म बालबच्चाको मासिक पढाइ शुल्क लिन नपाउने र उपनियम ८ मा बैङ्क खातामार्फत शिक्षक कर्मचारीलाई तलब भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत योङहाङले सबै संस्थागत विद्यालयलाई पत्र लेख्दै यसबारे भइरहेको प्रगतिको विवरण यथाशीघ्र नगरपालिकामा पठाउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७