रवि लामिछानेले सञ्चालन गरे मोबाइल क्लिनिक र महिलाका लागि निःशुल्क बस


१७ श्रावण २०८०, बुधबार
Blue bus

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । ‘मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन’, उनले भने, ‘तर जनप्रतिनिधि र नीति–निर्माताले सार्वजनिक यातायात कस्तो हुनु पर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनु पर्दछ भन्ने देख्नुपर्छ र देखाउनु पर्छ ।’

rabi lamichhane

सभापति लामिछानेले आजबाट एउटा बसबाट सुरुआत गरेर भविष्यमा माग र उपयोगअनुसार स्थानीय सरकारसँग समन्वय गरी बस संख्या थप्ने बताए । उनका अनुसार पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड उपलब्ध हुनेछ । वैदेशिक रोजगारका क्रममा विदेशिएका नेपालीका लागि स्वदेश फर्काउन एक सय दिनको रोजगारीको विज्ञापन खोलेको उनले जानकारी दिए । यस्तै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियानका क्रममा आफ्नो सचिवालयका लागि एक जना प्रमुख कार्यकारी अधिकृतमा एक जनाको नियुक्ति गरेको बताए ।

आजैबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई ‘मोबाइल क्लिनिक’ को उपचार सेवा उपलब्ध गराउने र गम्भीर बिरामीलाई अस्पतालसम्म सहजीकरण गरिदिने उनको भनाइ छ । चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने उनले घोषणा गरे । यस्तै सार्वजनिक शिक्षा सुधारका लागि उनले कक्षा ११ र १२ का लागि नमूना कक्षा सञ्चालन गरेको जनाउँदै बाँकी विद्यालयहरू सुधारोन्मुख बनाउन लागिपरेको बताए । ‘स्वस्थ्य चितवन’ अभियान सञ्चालन गर्ने जानकारी दिँदै निर्वाचन क्षेत्र नं २ का नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने समेत जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७