पहाडी क्षेत्रमा जनसंख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ


१८ श्रावण २०८०, बिहीबार
basai
फाइल फोटो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रको जनसंख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसंख्याको चाप बढेको हो ।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसंख्या ऋणात्मक देखिएको छ । बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसंख्या पनि विस्तारै घट्दो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षमा बढेको देखिन्छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको छ । तथ्याङ्क कार्यालय नवलपुरले दिएको जानकारीअनुसार बौदीकालीको जनसंख्या वृद्धिदर ऋणात्मक तीन दशमलव १४ र बुलिङटारको जनसंख्या वृद्धिदर ऋणात्मक दुई दशमलव ५७ रहेको छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा १९ हजार एक सय २२ जनसंख्या रहेको बुलिङटार गाउँपालिकाको जनसंख्या १० वर्षमा घटेर १४ हजार छ सय ३७ पुगेको छ भने २०६८ मा १५ हजार सात सय ३४ जनसंख्या रहेको बौदीकालीको जनसंख्या १० वर्षमा घटेर ११ हजार तीन सय ३८ पुगेको छ ।

त्यसैगरी मुख्य राजमार्गले नछोएको अर्को स्थानीय तह हुप्सेकोट गाउँपालिकाको जनसंख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । विसं २०६८ को जनगणनामा २५ हजार ६५ जनसंख्या रहेको हुप्सेकोटको जनसंख्या १० वर्षपछि २०७८ मा २६ हजार पाँच सय ८३ पुगेको हो ।

यता पूर्व पश्चिम राजमार्गले छोएका स्थानीय तहको जनसंख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको जनसंख्या वृद्धिदर जिल्लामा सबैभन्दा बढी छ । राष्ट्रिय जनगणना २०७९ अनुसार तीन दशमलव १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसंख्या ८६ हजार आठ सय २१ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसंख्या ६२ हजार चार सय २१ रहेको थियो ।

जनसंख्या बढ्ने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । दुई दशमलव ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसंख्या ५८ हजार तीन पुगेको छ । विसं २०६८ मा देवचुलीको जनसंख्या ४२ हजार ६३ रहेको थियो । दुई दशमलव ८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैँडाकोट नगरपालिकाको जनसंख्या २०७९ मा ७९ हजार तीन सय ४९ पुगेको छ । यहाँ दश वर्ष अगाडि ५८ हजार आठ सय ४१ जनसंख्या रहेको थियो ।

त्यसैगरी राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव १६ प्रतिशत रहेको छ । विसं २०६८ को जनगणनामा ५४ हजार एक सय ४० जनसंख्या रहेको यो नगरपालिकाको जनसंख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव ४६ प्रतिशतले बढेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनामा ३२ हजार नौ सय ४३ जनसंख्या रहेको यहाँको जनसंख्या दश वर्षमा बढेर ३८ हजार तीन सय ७० पुगेको छ ।

ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको देखिएको हो । बढ्दो बसाइँसराइको कारणले पहाडमा जनसंख्या घट्दै गएको र यो चिन्ताको विषय भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । ‘गाउँपालिकाले बसाइँसराइ रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिएको छ’, उनले भने, ‘गुणस्तरीय शिक्षा र रोजगारीका लागि मानिस बसाइँसराइ गरिरहेका छन्, यसलाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौँ ।’ उनका अनुसार गाउँमा नै व्यक्तिलाई मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्नसक्ने बनाउन कृषिमा आधारित रोजगार र शिक्षालाई सहज र गुणस्तरीय बनाउन गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको छ ।

गाउँमा किन जनसंख्या घट्दै छ त्यसतर्फ स्थानीय तहले गम्भीर भएर सोच्नुपर्ने मध्यविन्दु बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक करुण लम्सालले बताए । ‘गाउँमा जनसंख्या टिकाउने हो भने पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउनेतर्फ स्थानीय तह लाग्नुपर्छ’, उनले भने, ‘पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसंख्या गाउँमा पनि टिक्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७