राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास


१९ श्रावण २०८०, शुक्रबार
Malla

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । आज (शुक्रबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

‘आउँदा दिनमा क्रिकेटले अझै राम्रो गर्न सक्छ, यो टिमले राम्रो गर्न सक्छ भन्ने लागेपछि सन्यास रोजेको हुँ’, उनले भने । उनले लामो समय टिममा खेलेको स्मरण गर्दै अगाडि भने, ‘यत्रो वर्ष राष्ट्रिय टिमबाट खेले । राष्ट्रिय टोलीबाट खेलेपछि १०० प्रतिशत कन्ट्रिबुट गर्न सक्दिनँ भन्ने लागेपछि सन्यास लिएको हुँ ।’

उनले क्रिकेटको अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाउन आफ्ना लागि यो उपयुक्त समय भएको बताए । सन्यास लिने क्रममा उनले आफ्नो क्रिकेट करिअर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद पनि दिए । इमर्जिङ एसिया कप खेलेर राष्ट्रिय टोली फर्किएको भोलिपल्टै मल्लले सन्यास घोषणा गरेका हुन् । नेपाली टोलीले श्रीलंका भएको इमर्जिङ नेशन्स कपमा सहभागी हुँदा ज्ञानेन्द्र टोलीमा परेका थिएनन् । नेपालले खेलेका पछिल्ला खेलहरुमा पनि उनलाई प्रायः बेञ्चमा राखिएको थियो । इमर्जिङ एसिया कपमा उनीसहित नेपालका सिनियार खेलाडीहरुलाई विश्राम गराइएको थियो ।

इमर्जिङ एसिया कपपछि नेपाली टोलीले श्रीलंकामै प्रशिक्षण गरेको थियो । प्रशिक्षणमा मल्लसहितलाई पठाउने प्रयास क्यानले गरेको थियो । तर आफ्नो राहदानी बेलायत जाने भिसाका लागि पठाएकाले उनी श्रीलंका जान सकेनन् । इमर्जिङ एसिया कप नखेलेका ज्ञानेन्द्रले जिम्बाबेमा भएको विश्वकप छनोटका केही खेलमा अवसर पाएका थिए । तर उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । नेपाली टोलीमा युवा खेलाडीहरुको प्रभाव बढ्दै गइरहँदा पूर्व कप्तान पारस खड्काले जस्तै मल्लले पनि सन्यास लिएका हुन् । पारसले पनि २०७८ साउन १९ गते नेपाली राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए । त्यसपछि त्यो जिम्मेवारी ज्ञानेन्द्रमा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७