तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत


२१ श्रावण २०८०, आईतवार
tanahu hydro

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत पुगेको छ ।

आयोजनाको प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावर हाउस पुग्ने टनेल निर्माण सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । आयोजनाको प्याकेज–२ अन्तर्गत ६९ वटा विद्युत टावरको जग राख्ने काम भइरहेको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए ।

कुल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिने छ । हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको उनको भनाइ छ । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य लिइए पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

आयोजनाको प्याकेज–२ अन्तर्गत सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । कम्पनीसँग विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता गरेको थियो ।

आयोजनाका अनसार पावर हाउसतर्फ करिब एक हजार ५६ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको छ । कुल एक हजार चार सय ५६ मिटर मुख्य सुरुङमध्ये अब करिब चार सय मिटर सुरुङ खन्न छ । आयोजनाको प्याकेज–१ अन्र्तगत डयाम बनाउनका लागि भीर कटान भइरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा कालिका जेभीले विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७