महिला क्रिकेटरका लागि भारतीय प्रशिक्षक नियुक्त


२१ श्रावण २०८०, आईतवार
debika paliskar

काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्व महिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ ।

भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी उनलाई कन्सल्यान्ट प्रशिक्षकको रुपमा आज नियुक्त गरिएको क्यानले जनाएको छ । देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।

देविका सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन् । उनी २०१८ मा बङ्गलादेशको सहायक प्रशिक्षक बनेकी थिइन् । मलेसियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म आयोजना हुने आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस्मा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक मलेसियासँगै बहराइन, भुटान संयुक्त अरब इमिरेट्स (युएई) र कतार रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउने छन् । छनोट हुने नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीसहित सीता रानामगर, ईन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का रहेका छन् ।

त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैसी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डङ्गोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुबि पोडार रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७