उपसभामुख रानाको प्रश्न : उपसभामुखले चुप लाग्नु पर्छ भनेर संविधानमा कहाँ लेखेको छ ?

‘देशमा सुशासन होइन, कुशासन छ’


२४ श्रावण २०८०, बुधबार
Indira8 rana

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको भन्दै गुनासो गरेकी छन् । आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको गुनासो गरेकी हुन् ।

उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन् । उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरेकी छन् । उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन् ।

उनले भनिन्, ‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नु हुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५-६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ । नियममा कहाँ लेखेको छ, उप चुप भनेर । संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ । सुशानको कुरा गर्नुहुन्छ, यो सुशासन हो कि कुशासन हो ? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की, बालक हो की म । कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेशन खोलिन्छ । अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरु पलायन हुँदैनन् ।’ उपसभामुख रानाले देशमा सुशासन नभइ कुशासन रहेको दाबी गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७