दर्शकको रोजाइमा आधुनिक चलचित्र भवन


०७:१२ बजे

काठमाडौं । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि चलचित्र हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा सुविधासम्पन्न भवन पर्न थालेका छन् ।

अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् । प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताए । ‘अहिले सानो क्षमताको भए पनि आधुनिक प्रविधि र सुविधासम्पन्न भवन गाउँसम्म पुगेका छन्’, उनले भने, ‘त्यसैले पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रुपान्तरण भएका छन् ।’ उनका अनुसार दसैँ अगाडि नै काठमाडौँ र मोफसलमा केही चलचित्र भवन थपिँदै छन् ।

नेपालमा ‘थ्री डी’ चलचित्र हेर्न पाइने भन्दै महासचिव महर्जनले विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिए । ‘आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक संख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ । अहिले भइरहेको आधुनिक प्रविधिलाई मोफसलका सहरमा पु¥याउनेतर्फ हामी केन्द्रित छौँ’, उनले भने ।

ग्रामीण क्षेत्रमा नयाँ चलचित्र भवन बने पनि सहर केन्द्रित सुविधा भने अझै नभएको महर्जनले बताए । उनका अनुसार प्रदर्शन डिजिटल प्रविधिमा भए पनि आधुनिक सुविधा नहुँदा धेरै चलचित्र भवनले राम्रो आयआर्जन गर्न सकेका छैनन् । भदौदेखि आश गरिएका चलचित्र प्रदर्शन हुने मिति तय भएका छन् । ‘दर्शक नयाँ विषयवस्तुका चलचित्र सुविधासम्पन्न तरिकाले हेर्न रुचाउछन्’, उनले भने, ‘चलचित्रको चर्चा नभए दर्शक हलसम्म पुग्ने परिपाटी नै सकिएको छ ।’

चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले नेपालमा डिजिटल प्रविधि भित्रिएसँगै चलचित्र हेराइमा आधुनिकता देखिएको बताए । ‘अहिले एकल पर्दा रहेका पुरानो शैलीका चलचित्र भवन लगभग छैनन् भन्दा फरक पर्दैन’, उनले भने, ‘दर्शक त्यस्ता हलमा जानै छोड्नु भएको छ । उहाँहरु पनि गुणस्तरीय प्रविधिमा नै चलचित्र हेर्न चाहनुहुन्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७