लडाकु शिविरमा भएको घोटालाको पनि छानबिन हुनुपर्छ : डा.बाबुराम भट्टराई


२०८० श्रावण २६ शुक्रबार १०:२६ बजे

बुटवल : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता डा. भट्टराईले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताएका हुन् ।

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पुर्‍याउनुपर्ने बताए । ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ, ललितानिवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु’, उनले भने ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।

‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठूला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ’ भट्टराईले भने, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’

संसदमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको नेता भट्टराईले उल्लेख गरे । एमालेको माग सैद्धान्तिक ढङ्गले ठीक भएको बताउँदै उनले भने, ‘सबैलाई छानबिन गर्नसक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’

ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेशको विषयमा उनले त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताए ।

‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन, बयान दिन म तयार छु’, डा. भट्टराई भने, ‘उच्चस्तरीय छानबिनको ढोका खुल्छ भने सबैखाले सहयोग गर्न तयार नै छु ।’

नेपालमा अहिले पनि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको दोहोर्‍याउँदै भट्टराईले विगतमा आफूले हतारिएर अरुको चिह्न लिएर चुनावमा जानु र सबै मुद्दा नमिल्दै पार्टी एकीकरण गरेर गल्ती गरेको स्वीकारे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७