हवाईमा डढेलोमा परी ५५ जनाको मृत्यु भएको पुष्टि


२७ श्रावण २०८०, शनिबार
660537 01 02

काठमाडौं । हवाईको ऐतिहासिक शहरमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई तीव्र गतिमा प्रभावित पारेको थियो । आगोको लप्का यति छिटो सर्‍यो, जसका कारण धेरै जना सडकहरूमा फसेका थिए वा भाग्नको लागि समुद्रमा हामफालेका थिए ।

‘शहरको दृश्यलाई भिडियोमा हेर्दा वास्तवमा कसैले एक्कासी पूरै शहरमा बमबारी गर्‍यो । मानिसहरूले आगोबाट बच्ने विकल्प केही नहुँदा आगोको लप्काबाट जोगिन समुद्रमा हाम फालेका थिए । शहर पूर्ण रूपमा तहसनहस भएको छ’, क्यानेडियन ब्रान्डन विल्सनले भने ।

विल्सने आफ्नी पत्नीसँग आफ्नो २५ औं वार्षिकोत्सव मनाउन हवाई गएका थिए । विमानस्थलमा उडान भर्ने प्रयास भइरहँदा उनले दृष्यलाई प्रत्यक्ष देख्न सकेका थिए । आँशु झार्दै उनले भने, ‘यो हेर्न साँच्चै कठिन हुन्थ्यो । तिनीहरूले आफ्नो घर, आफ्नो जीवन, आफ्नो जीविकोपार्जन गुमाए ।’

यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई ठढेलो घटना एक हो । क्यानाडामा अझै पनि विशाल डढेलो लागिरहेको छ । अमेरिकाको दक्षिण–पश्चिममा उच्च उष्ण लहर फैलिरहेको छ । यूरोप र एसियाका केही भागले पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ, जहाँ विशाल डढेलो र बाढीले आतङ्क मच्चाएको छ । ‘आज हामीले जे देखेका छौं त्यो विनाशकारी भएको छ । सम्भवतः हवाई राज्यको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो’, गभर्नर जोस ग्रीनले भने ।

‘सन् १९६० मा बिग आइल्याण्डमा ठूलो लहर आउँदा ६१ जनाको मृत्यु भएको थियो’, हवाई अमेरिकाको ५० औं राज्य बनेको एक वर्षपछि भएको त्रासदीतर्फ सङ्केत गर्दै उनले भने । माउ काउन्टीका अधिकारीहरूले बिहीबार राति ९ः०० बजेपछि दिएको जानकारीमा ५५ जनाको मृत्यु भएका पुष्टि गरिएको हो । अधिकारीहरूले १९ औं शताब्दीको सुरुमा हवाई राज्यको राजधानीको रूपमा रहेको शहरमा अग्निनियन्त्रकहरू अझै पनि आगोसँग जुधिरहेको बताएका छन् ।

लाहैनामाथि उडेका एएफपीका एक फोटोग्राफरले खिचेका तस्बिरहरूले यो कालो र धुम्रपानको भग्नावशेषमा परिणत भएको देखाउँछ । ग्रीनका अनुसार शहरको ८० प्रतिशत भाग हराइसकेको छ । उनले भने, ‘हामी सबैले दशकौंदेखि सँगै रमाएका र पुस्तौंदेखि देख्दै आएका भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।’ हजारौं मानिस घरबारविहीन भएका छन् र ग्रीनले आवासको खोजीका लागि व्यापक अभियान सञ्चालन भइरहेको बताएका छन् । उनले पत्रकार सम्मेलनमा भने, ‘हामीले हजारौं विस्थापित व्यक्तिलाई बस्ने र खाने व्यवस्था गर्न आवश्यक छ ।’ अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोलाई बिहीबार ‘ठूलो विपत्ति’ भन्दै राहत कार्यका लागि सङ्घीय सहायता खुला गरिएको घोषणा गरेका थिए ।

पोप फ्रान्सिसले शुक्रबार हवाईका जनताको सुरक्षाको लागि प्रार्थना गर्दै घटनाबाट आफू निकै मर्माहत भएको भ्याटिकनले जारी गरेको एक टेलिग्राममा उल्लेख छ । अमेरिकी तटरक्षक बलका कमान्डर अजा कर्कसीले सीएनएनलाई बताएअनुसार आगोको लप्काबाट जोगिन करिब १०० जना मानिस पानीमा हामफालेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७