सडक नजिकै खसेको पहिरोमा भेटियो अजिङ्गर


२७ श्रावण २०८०, शनिबार
112 Shares
ajingar gorkha

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा अजिङ्गर फेला परेको छ । करिब २२ किलो तौल भएको अजिङ्गर शुक्रबार त्रिशूली नदी किनारनजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुलनजिकै गोरखातर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको उनले बताए । ‘तीन वटा घिस्रने जनावरमध्येमा उद्धार गरिएको अजिङ्गर (पाइथन) एउटा हो’, वनअधिकृत गोपालीले भने, ‘यो संरक्षित जनावरअन्तर्गत पर्दछ ।’ कच्ची सडकनजिकै खसेको पहिरोमा उक्त अजिङ्गर भेटिएको वन अधिकृत गोपालीले बताए ।

‘स्थानीयले जानकारी दिएपछि वडाध्यक्ष तुलबहादुर गुरुङले हामीलाई अजिङ्गर भेटिएको भनेर कार्यालयमा खबर गर्नुभयो’, वन अधिकृत गोपालीले भने, ‘कार्यालयबाट तत्काल कर्मचारी गएर अजिङ्गरको उद्धार गरिएको हो ।’ उनले फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको बताए। उद्धार गरिएको अजिङ्गरलाई अहिले सबडिभिजन वन कार्यालयमा राखिने र कहाँ छाड्ने भन्ने बारेमा शनिबार मात्र टुङ्गो लाग्ने उनको भनाइ छ ।

‘सोही स्थानमा छाड्ने कि चितवनमा लगेर राख्ने भन्ने निष्कर्षमा पुगिसेकका छैनौँ’, उनले भने, ‘भेटिएको अजिङ्गरको बासस्थानको क्षेत्र ठूलो रहने गरेको र फेला पारिएको क्षेत्रमा पनि यसको बासस्थान हुनसक्छ ।’ वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गरेका हुन् । स्थानीयले पहिलोपटक त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७