कैदीबन्दी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षागार्डविरुद्ध किटानी जाहेरी


२७ श्रावण २०८०, शनिबार
Sankhuwasabha Karagar

संखुवासभा । संखुवासभाको जिल्ला कारागारमा भएको दुई कैदीको मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षागार्डविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

कारागार प्रमुख राजेन्द्र घिमिरे र सुरक्षागार्ड लक्ष्मी चौधरीलगायतविरुद्ध मृतक विनोद तोलांगीका दाजु प्रकाशले प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । पीडितका पक्षबाट परेको किटानी जाहेरी दर्ता भएको डीएसपी विरेन्द्र गोदारले जानकारी दिएका छन् ।

साउन २३ गते संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारमा कुटपीटबाट मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले शवको पोष्टमार्टम नगरी विरोध गर्दै आएका थिए । घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो ।

दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरीले १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसनधान सुरु गरेको छ । घटनापछि प्रहरीले ९ जना कैदीलाई बुधबार पक्राउ गरिसकेको थियो । कारागारमा कार्यरत प्रहरी र कैदीबन्दी १९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । । नियन्त्रणमा लिइएका प्रहरी र कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन ।

कारागारमा रहेको सिसिटिभी फुटेजको आधारमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको छ । फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी वीरेन्द्र गोदारले बताए ।
पीडित पक्षको किटानी जाहेरीको आधारमा म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने उनले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित ९ जना कैदीबन्दी संलग्न भएको देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७