हेटौँडा–काठमाडौँ छोटो दूरीका सबै सडक अवरुद्ध


२०८० श्रावण २८ आइतबार ०७:१५ बजे

मकवानपुर । हेटौँडाबाट काठमाडौँ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो ।

भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी–९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए । त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका–११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा–काठमाडौँ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

भारी वर्षाका कारण हेटौँडा–४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ । गर्दोही क्षेत्रमा रहेका केही घर डुवानमा परेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७